निमोनियाले वर्षमा साढे पाँच हजार बालबालिकाको लिन्छ ज्यान

काठमाडौं, २७ कात्तिक । नेपालमा हरेक वर्ष पाँच हजार ५ सय बालबालिकाको मृत्यु निमोनियाका कारण हुने गरेको पाइएको छ ।

‘निमोनियाविरुद्ध लडाँै, बालबालिकालाई बचाऊँ’ भन्ने नाराका साथ सोमबार मनाउन लागिएको चौथो विश्व निमोनिया दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार विगत २० वर्षको तुलनामा नेपालमा निमोनिया प्रभावितको संख्या घट्दै गए पनि अझै बर्सेनि पाँच हजार ५ सय बालबालिकाको मृत्यु निमोनियाका कारण हुने गरेकाले नियन्त्रणका लागि धेरै कार्य गर्ने बेला आएको छ ।
महाशाखाका कर्मचारी डा. पुरुषोत्तम सेढाइले २० वर्षअघि निमोनियाका कारण मृत्यु हुने बालबालिकाको दर ४० प्रतिशत रहेकामा अहिले घटेर ५ मा झरेको जानकारी दिए । बालबालिका जन्मेदेखि ६ महिनासम्म स्तनपान गराए, आमाले पोषिलो खाना खाए तथा धुवाँ धुलोबाट टाढा राख्न सके बालबालिकालाई निमोनियाबाट जोगाउन सकिने सेढाईंले बताए  ।
बालरोग विशेषज्ञ डा. धनराज अर्यालले निमोनियाका कारण बर्सेनि पाँच हजार ५ सय बालबालिकाको मृत्यु हुने भएकाले त्यसलाई रोक्न सरकारले ‘निमोककल भ्याक्सिन’ उपलब्ध गराउन आवश्यक रहेको बताए । डा. अर्यालका अनुसार धेरै देशमा ‘निमोककल भ्याक्सिन’को प्रयोग हुने गरे पनि नेपालमा सो भ्याक्सिन हालसम्म उपलब्ध हुन सकेको छैन ।
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले एचआइभी/एड्स संक्रमित युवामा समेत निमोनियाको खतरा रहेकाले जनचेतना जगाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया