कलैया, २७ कात्तिक । स्थानीयले बारा बेलदारी–६ की आशादेवी यादवलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका छन् । यादवलाई बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते ३५ वर्षीय यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीय लक्ष्मी यादव, रमेश यादव, मंगनी यादवलगायतले उनीमाथि कुटपिट गरेका हुन् । उनीहरूले यादवलाई मलमूत्र खुवाएर कुटपिट गरी कपालसमेत काटिदिएका थिए । स्थानीय मंगनी यादवकी ३ वर्षीया नातिनीलाई टुनामुना गरेपछि मारेको आरोपमा उनीमाथि कुटपिट भएको बताइएको छ । टुनामुना गरेर अरूका छोराछोरी मारेको आरोपमा आफूलाई मलमूत्र खुवाएर कुटपिट गरेको यादवले बताइन् । ‘उनीहरूले कुटपिट गरी मलाई मलमूत्र खुवाए, कपालसमेत काटिदिए,’ उनले भनिन्, ‘निर्दोषमाथि यस्तो अपराधको आरोप लगाइयो ।’
उनले जिल्ला प्रहरी कार्यालय बारामा आइतबार उनीहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दिएकी छन् । उनको जाहेरीबारे जिल्ला प्रहरी कार्यालयमातहतका महिला तथा बालबालिका सेवा केन्द्रलाई जिम्मेवारी दिइएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । छानबिन गरेर दोषीलाई कडा कारबाही गरिने घिमिरेले बताए ।
प्रतिक्रिया