सुनसरी, २७ कात्तिक । झुम्कामा रहेको पूर्वाञ्चल क्षेत्रीय कारागारबाट प्रहरीकै संग्लनतमा बिहीबार १२ कैदी फरार भएको रहस्य खुलेको छ । सुरुङ खन्नेदेखि कैदी भगाउनेसम्मको योजनामा प्रहरी अधिकारीको प्रत्यक्ष संलग्नता रहेको रहस्य खुलेको हो ।
सुनसरी प्रहरीका एक अधिकारीले प्रहरीकै संग्लनतामा कैदी भागेको बताए । ‘अहिलेसम्मको अध्ययनमा प्रहरी संग्लनता देखिएको छ,’ ती अधिकारीले भने, ‘तर को को संलग्न छन् भन्ने यकिन भएको छैन ।’ कारागारभित्रै ३० मिटर लामो सुरुङ खनी गत बिहीबार राति खुंखार अपराधी बंगलादेशी नागरिक अली असरफ भनिने सुव्रत वेन, भारतीय कुख्यात अपराधी मुखियाजी भनिने धिरेन्द्र यादव र गुड्डु भनिने बमबम यादवलगायत १२ कैदी भागेका थिए । कारागार सुरक्षार्थ रहेको नेपाल प्रहरीको टोलीमा रहेका सइ जितबहादुर केसीको उक्त घटनामा प्रमुख हात रहेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार सइ केसीसँगैको मिलेमतोमा कैदीले कारागारभित्र सुरुङ खन्ने योजना बनाएका थिए । सइ केसीको दरबन्दी सुनसरीकै महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा भए पनि उनी ०६७ को अन्त्यतिर कारागार पठाइएका थिए । ललितपुरको नख्खु कारागारबाट धिरेन्द्रलाई झुम्का पठाएको केही दिनअघि मात्र सइ केसी त्यहाँ पठाइएका थिए ।
नख्खु कारागारबाट धिरेन्द्रलाई २९ कात्तिक ०६८ मा झुम्का सारिएको थियो । २२ वैशाख ०६७ मा रामेछापको टोक्लापुर इलाका प्रहरी कार्यालयबाट सुनसरीको महेन्द्रनगर आएका सइ केसीलाई केही दिन महेन्द्रनगर र केही दिन सुनसरीको चतरा बसेपछि झुम्का कारागार पठाइएको थियो । अन्तर्राष्ट्रिय अपराधी सुव्रत वेनकी श्रीमती इटहरीमा डेरा लिएर बस्ने र सइ केसी उनको डेरा जाने पाइएको एक अधिकारीले बताए । सइ केसीमार्फत भित्रको कुरा सुब्रतकी श्रीमतीसम्म पुग्ने अनि उसले बाहिरी कुरा मिलाउने काम गर्दै आएको बताइन्छ । सुव्रतकी श्रीमती बुधबार साँझबाटै डेरा छाडेर भागिसकेकी छन् ।
सइ केसीकै निर्देशनमा बुर्जाघरमा डयुटीमा रहेका प्रहरीले बिहीबार राति उज्यालो पारी निगरानी नगरेको प्रहरी अधिकारीको भनाइ छ । धिरेन्द्र र बमबम झुम्का कारागारमा ल्याइएपछि सुव्रतसित जेलबाट भाग्ने योजना बनाएका थिए । योजनाको पहिलो चरणमा उनीहरूले कारागारभित्र माछापोखरी खन्न सुरु गरेका थिए । पोखरी खनिसकेपछि सुरुङ खन्न सुरु गरेको हुन सक्ने एक अधिकारीले बताए । यसैबीच प्रहरीले भागेका कैदी खोज्ने अभियानलाई तीव्र बनाएको छ ।
प्रतिक्रिया