धार पुरानै

 

काठमाडौं, २६ कात्तिक । जबजब माया बस्छ हेर्ने प्राय: दर्शकको धारणा सायद यस्तो होला– पुरानै जस्तो लाग्ने प्रेमकथा । पुरानै धारका चलचित्रमा प्रयोग भइसकेजस्ता प्रेमप्रसंग, गीतसंगीत र एक्सनलाई प्राथमिकता दिइएको छ यो     चलचित्रमा ।
शीर्ष भूमिकामा देखिएका श्रवण (जीवन लुइँटेल) का बुबा (रमेश) जानकीदेवी (मिथिला शर्मा) को घरमा नोकर हुन्छन् । बाबुछोरा दुवै मालिक्नीकै घरमा बस्छन् । सिक्किमकी धनी केटी (सिर्जना बस्नेत) सँग बिहे गरेर छोरो (गणेश उप्रेती) बिदेसिएपछि जानकीदेवी तिनै कामदार बाबुछोराको सहारामा दिन कटाइरहन्छिन् । नोकरको छोरो भए पनि सहयोगी स्वभावका कारण श्रवण गाउँभरि परिचित छ । गाउँमा श्रवणको ‘जिग्री दोस्त’ पनि छ– रंगीला । रंगीला प्रेममा पर्दाको रमाइलोबारे श्रवणसँग कुरा गरिरहन्छ । श्रवणचाहिँ मनले खाने कुनै केटीको पर्खाइमा हुन्छ । छोरो नआए पनि जानकीदेवीकी नातिनी सिम्रन (नायिका) उनलाई भेट्न आउँछिन् । जानकीदेवी निकै खुसी हुन्छिन् ।
एउटै घरमा बस्ने भएपछि श्रवण र सिम्रन निकटतम साथी बन्छन् । श्रवणले सिम्रनलाई गुन्डाहरूबाट बचाउँछ । श्रवण सिम्रनलाई मन पराउँछ । सिम्रन पनि श्रवणका व्यवहारमा मायाको अनुभूति गर्न थाल्छे । तर, उनीहरूले मनको कुरा भन्न सकिरहेका हुँदैनन् । त्यत्तिकैमा नयाँ पात्र विशाल (सरोज केसी) को प्रवेश हुन्छ । विशाल आफूलाई सिम्रनको प्रेमी भन्छ र विवाहका लागि सिम्रनलाई लिएर सिक्किम हिँड्छ  । सिम्रन पनि कुनै निर्णय गर्न नसकी विशालको पछि लाग्छे । सिक्किम पुग्नासाथ सिम्रनलाई श्रवणको अभाव महसुस हुन थाल्छ । आफ्नो मनले उसैलाई प्रेम गर्ने ठम्याउँछे । हजुरआमा जानकीदेवीलाई चिठी पठाउँछे । नातिनीको भावना बुझेर जानकीदेवी सिम्रनलाई लिएर आउन श्रवणलाई पठाउँछिन् ।
नेपाल घुम्न गएकी छोरीको नोकरसँग प्रेम भएको थाहा पाएपछि सिम्रनकी आमा शारदा (सिर्जना) ले हतारहतार विशालसँग इन्गेजमेन्टको तयारी गर्छिन् । इन्गेजमेन्ट हुने बेलैमा पुरानै फिल्मी शैलीमा श्रवण पुग्छ । छोरीलाई सिधै रोक्दा नराम्रो हुने देखेपछि शारदादेवी र विशालका बाबु (रवि गिरी) श्रवणलाई विवाहको तयारी गर्न नेपाल पठाउँछन् । तर, यसमा उनीहरूको षड्यन्त्र चलिरहेको हुन्छ । सोही कारण नेपाल फर्कन लागेको श्रवणले अनेकौँ दु:ख, यातना झेल्नुपर्छ । तिनै झमेला पार गराउँदै नायकनायिकाको सुखद मिलन गराएर चलचित्रको अन्त्य हुन्छ ।
पुरानै चलचित्रमा हेरिरहेजस्तो फर्मुला । यस्ता थुप्रै ठाउँ छन्, जहाँ दृश्य सकिनुअगावै दर्शकले अब के हुन्छ भन्ने सहजै थाहा पाउँछन् । अपेक्षाकृत रोमाञ्चकता बाँकी रहँदैन ।
विजय थापा निर्देशित चलचित्रको कथामा कुनै नवीनता छैन । पटकथा पनि कथाअनुसारको छैन । संवादलाई भने राम्रै भन्न सकिन्छ । यसअघि चारवटा चलचित्र निर्देशन गरिसकेका थापाले केही दृश्यबाहेक चलचित्रलाई सकेजति मनोरञ्जनमूलक बनाउने प्रयासचाहिँ गरेका छन् ।
सिक्किमका रमाइला ठाउँमा छायांकन गरिएको छ । तर, पटकपटकका फोकसआउट र धमिला दृश्यले दर्शकलाई बोर गराउँछन् । गीतसंगीत मिठासपूर्ण छ तर गीत आवश्यकताभन्दा धेरै छन् । चलचित्रमा गणेशले श्रीमतीका कारण आमालाई भेट्न नपाएको कुरा बारम्बार दोहोर्‍याइन्छ । तर, यो प्रसंगलाई पुष्टि गर्ने कुनै दृश्य समेटिएको छैन, डाइलगले मात्रै त्यसलाई प्रस्ट्याउन सकेजस्तो लाग्दैन । गणेशले शारदादेवीको प्रेममा परेर घर छोडेको तथ्य तर्कसंगत नलाग्न पनि सक्छ, प्राय: दर्शकलाई । अर्को कुरा, गणेश र सिर्जनालाई जवानी अनि बुढ्यौली दुवै प्रसंगमा उस्तै देखाइएको छ ।
आफ्नो बेस्ट फ्रेन्ड विशालसँग सिम्रनले श्रवणलाई मन पराउने कुरा नभन्नु, फेरि श्रवणले आफूलाई मन पराउँछ कि पराउँदैन भन्ने थाहा नपाईकनै हजुरआमालाई उसैसँग बिहे गर्छु भनेर चिठी पठाउनुजस्ता कुरा अमिल्दा लाग्छन् । यी प्रसंगलाई न्याय गर्ने सहायक दृश्यको अभाव छ ।
रंगीलाको अभिनयबाट दर्शकले मनोरञ्जन लिन सक्छन् । जीवनको अभिनय पनि राम्रै हो । मिथिला र सिर्जनाले कथा सुहाउँदो काम गरेका छन् । सरोज केसीको काम तारिफयोग्य छ । रवि गिरीको अभिनय पनि राम्रो छ । तर, गणेश उप्रेतीले यसमा खासै अभिनय देखाएका छैनन् । पुलिस इन्सपेक्टर बनेका सुनीलदत्त पाण्डे भूमिकामा सुहाएका छन् । रेखाको अभिनय ओभर लाग्छ, नौलोपन छैन । कतिपय ठाउँमा निर्देशकलाई पनि क्रस गर्न खोजेको भान हुन्छ उनले । नृत्यमा कुनै चमक छैन । त्यसो त द्वन्द्वनिर्देशक हिमाल केसीले पनि द्वन्द्वको पाटो उति सबल बनाउन नसकेका हुन् कि † क्लाइमेक्स दमदार लाग्दैन । समग्रमा, नयाँ कथा र विषयवस्तु खोजेर हल छिर्ने दर्शकको प्यास भेट्न नसके पनि बसुन्जेल समय कटाउने माध्यम भने बनिदिन सक्छ, जबजब माया बस्छ ।

प्रतिक्रिया