पोखरा, २६ कात्तिक । लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दीले क्लब पोखरामा सम्पन्न दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० ले हराउँदै मनाङले उपाधिसहित नगद तीन लाख पाँच हजार रुपियाँ पहिलो पुरस्कार रहेको प्रतियोगिताको उपाधि जित्यो । मनाङको एक महिनाको अन्तरमा यो दोस्रो उपाधि हो । गत महिना मात्र कृष्ण थापाको प्रशिक्षणमा रहेको मनाङले एनसेल कपको समेत उपाधि जितेको थियो ।
उपविजेता मच्छिन्द्रले एक लाख ५० हजार रुपियाँ पायो । प्रतिस्पर्धात्मक फाइनलमा मनाङलाई जित दिलाउने क्रममा युवा स्ट्राइकर नीराजन मल्लले ३५आँै मिनेटमा गोल गरे । यता खेल अवधिभर मनाङविरुद्ध हाबी रहेर गोलका लागि निकै अवसर जुटाएको मच्छिन्द्रले प्राप्त पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन । विकास सिंह क्षेत्रीले डी एरियामा फल गरेपछि पाएको पेनाल्टीलाई मच्छिन्द्रका कप्तान दीपक राईले उपयोग गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी मनाङका गोलरक्षक एबोहिट एम्युनलले जोगाएका थिए । पूरा समय विपक्षीलाई दबाब दिएको मच्छिन्द्रले लगातार कर्नर फ्रि–किकसमेत उपयोग गर्न सकेन । मनाङका प्रशिक्षक कृष्ण थापाले जितको श्रेय पनि गोलकिपर एबोहिटलाई नै दिएका छन् । अघिल्ला खेलमा भन्दा फाइनलमा खेलाडीको प्रदर्शन सन्तोषजनक नभए पनि पाएको अवसर सदुपयोग गर्न सकेकाले उपाधि जितेको प्रशिक्षक थापाको भनाइ छ ।
उपविजेता मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले खेल मनाङको पक्षमा गए पनि आफ्ना खेलाडीको प्रदर्शन निकै सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना खेलाडीले पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । राष्ट्रिय खेलाडीले भरिपूर्ण र चारजना विदेशी खेलाडीका सामु आफ्ना खेलाडी हाबी हुनु नै सफलता भएको उनको प्रतिक्रिया थियो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित मच्छिन्द्र क्लबका विशाल राई ‘बी’ले ७५ हजार रुपियाँ र मोबाइल सेट पुरस्कार पाए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा मनाङका कृष्ण थापा, उत्कृष्ट रक्षक मनाङकै जम्बो, स्ट्राइकरमा मनाङकै नीराजन मल्ल, उत्कृष्ट गोलरक्षकमा हिमालयन शेर्पा क्लबका विनय श्रेष्ठ, उत्कृष्ट मिडफिल्डरमा मच्छिन्द्रका विशाल राई ‘बी’ र प्रतियोगिता अवधिभर ५ गोल गरेका मच्छिन्द्रका दीपक राईले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरेका छन् । उनीहरू प्रत्येकले १५ हजार रुपियाँ पुरस्कार पाए ।
बारम्बार नेपाली प्रशिक्षक र फुटबल अधिकारीबाट सधँै पूर्वाग्रहको सिकार भएका हिमालयन शेर्पाका गणेश खड्का यसपटक पनि कुनै पुरस्कार पाउनबाट वञ्चित रहे । सेमिफाइनलसम्म उनले सानदार प्रदर्शन गरेका थिए । मच्छिन्द्रसँगको सेमिफाइनल खेलमा उनले नेपाली फुटबलमा दुर्लभै देख्न पाइने स्तरीय गोल गरेका थिए । स्मरणीय छ, विंगमा त्यत्तिकै सानदार खेल्ने गणेश खड्काले पछिल्ला दुई वर्षमा गरेका हरेक गोल अन्य खेलाडीको तुलनामा उत्कृष्ट रहेका छन् । तथापि, उनी कहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका छैनन् भने उनले जस्तो प्रदर्शन गरे पनि उत्कृष्ट खेलाडीको अवार्डमा छनोटकर्ता नै पूर्वाग्रही बन्दै आएका छन् ।
विजेता टोली तथा खेलाडीलाई पूर्वप्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाह र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीलगायतले पुरस्कार वितरण गरे । कास्की जिल्ला फुटबल संघको आयोजनामा १४ कात्तिकदेखि सञ्चालित प्रतियोगितामा विदेशी तीन टिमसहित १२ टोलीको सहभागिता थियो ।
प्रतिक्रिया