नेप्सेमा ३० अंकले सुधार

काठमाडौ, २६ कात्तिक । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलताका कारण सुलभ दरमा कर्जा प्रदान हुन थालेपछि गतसाता नेप्सेमा ३० दशमलव ४२ अंकले वृद्धि भई ४ सय ८२ दशमलव ५१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनका तुलनामा ७ दशमलव ९० अंकले वृद्धि भई १ सय २२ दशमलव ५३ अंकमा आइपुगेको छ ।
ऋणको ब्याजदर सस्तो हुनु, सेयर खरिद ऋण सहजै उपलब्ध हुनु तथा बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुनुले बजार बढ्न सहयोग पुर्‍याएको अनुमान पनि विश्लेषकको रहेको छ ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले क्रस होल्डिङ नहुने गरी हाइड्रोपावर, इन्स्योरेन्स र टेलिकमको सेयर किनिरहेका छन् भने इन्स्योरेन्स कम्पनीले धमाधम बैंक तथा वित्तीय संस्थाको सेयर किनिरहेका छन् । अघोषित रूपमा बजारमा संस्थागत लगानीकर्ताको काम गर्न थालेकाले बजार बढ्न गएको हो । सहमतीय सरकार बनेमा सेयर बजार बढ्ने अनुमानका आधारमा पनि लगानीकर्ताले अहिले धमाधम सेयर किनिरहेको स्टक ब्रोकरले बताएका छन् ।
समग्रमा भन्नुपर्दा अहिले लगानीकर्ताको सेयर बजारप्रतिको आत्मविश्वास फर्केकाले बजार उकालो लागिरहेको हो ।
गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय २५ कम्पनीको कारोबार भएको छ । जसमा सात हजार सात सय ९२ कारोबारबाट ५१ करोड ४० लाख ४८ हजार रुपियाँ बराबरका २० लाख ७३ हजार सात सय २९ कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता एक सय दुई कम्पनीको कारोबार भएको छ । जसमा तीन हजार एक सय ३० कारोबारबाट १५ करोड ३२ लाख ६० हजार रुपियाँ बराबरका पाँच लाख ४८ हजार चार सय ४० कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताका तुलनामा दुई सय ३५ दशमलव ४१ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीको मात्र २९ करोड ६५ लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ५७.६९ प्रतिशत हो ।
यस साता कारोबार रकम चार करोड ३१ लाख रुपियाँका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर चार लाख कित्ताको आधारमा एनसिएस म्युचुअल फन्डमा अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा चार सय १३ वटाको आधारमा जनता बैंक नेपाल अग्रस्थानमा रहेको छ । साताको उत्कृष्ठ पाँच कम्पनीमा स्ट्यान्डर्ड चार्टड बंैक नेपाल, बैंक अफ काठमाडौं, किस्ट बैंक, नेपाल बंगलादेश बंैक र नेपाल इन्भेस्टमेन्ट बंैक रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन सकेन ।

प्रतिक्रिया