सिमसार सम्मेलन सम्पन्न

 

पोखरा : अन्तर्राष्ट्रिय सिमसार सम्मेलन ९ बुँदे घोषणापत्र जारी गदै सम्पन्न भएको छ । विभिन्न १३ मुलुकका ८५ जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा ४० जना विदेशी विज्ञ सहभागी रहेको वन तथा भूसंरक्षण मन्त्रालय सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका सम्मेलन संयोजक दीपेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, इरान, बेलायत, जर्मनी, अमेरिका, थाइल्यान्ड, म्यासिडोनिया, बंगलादेश, भुटानलगायत देश सहभागी थिए ।
सम्मेलनमा कास्की उपत्यकाका सिमसार, मिचाहा वनस्पति प्रजातिका चुनौती विषयक, उच्च हिमाली क्षेत्रका समस्या र मुख्य पक्षी क्षेत्रको संरक्षण तथा एकीकृत सिमसार संरक्षण, सिमसार तथा जैविक विविधता संरक्षण, सिमसार र सुशासन साथै सिमसार र पारिस्थितीय प्रणालीजस्ता विषयमा विज्ञले ४२ ओटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरामा रहेको सिमसार क्षेत्रको एकीकृत कार्ययोजना बनाई छिटै नै रामसार क्षेत्रमा सूचीकृत गर्ने पहलसहित सिमसार नीति कार्यक्रम कार्ययोजनालाई समायानुकूल परिमार्जन गरी लागू गर्ने विषयमा छलफल भएको आयोजकले जनाए । स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी तीन तहको सञ्जाल निर्माण गरी दिगो विकासका लागि अनुभव आदान–प्रदान गर्दै काम गर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।
यसैगरी सिमसार शिक्षा जनचेतनाका कार्यक्रम स्थानीय तहमा पुर्‍याएर प्रचार–प्रसार गर्ने, जलवायु परिवर्तनबाट सिमसार क्षेत्रमा पर्न गएको असर अध्ययन गरी कार्ययोजना तर्जुमा गर्ने पनि घोषणापत्रमा छ । पोखरा घोषणापत्रलाई कार्यान्वयन गरी नेपालका सिमसार क्षेत्रको विकासका लागि पहल गर्न सम्मेलनका सहभागीले प्रतिबद्धता जनाएका छन् ।
सिमसार क्षेत्रको संरक्षण नहुँदा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, पानीका स्रोत सुक्दै जानु, दीगो रूपमा पानीको राम्रो प्रयोग हुन नसक्नुजस्ता कारण बढ्दै गएको देखिएको सहभागीले बताए । सम्मेलनले जारी गरेको पोखरा घोषणापत्रले नेपालमा सिमसार संरक्षणमा गर्नुपर्ने नीतिगत कार्यक्रम तय गर्न टेवा पुग्ने आयोजकको दाबी छ । (सौस)

प्रतिक्रिया