भाइबहिनीहरू ! मेरो जन्म वि.सं २०१० साल साउन ८ गते खोटाङको खाल्ले गाविसमा भएको हो । बाबुआमाका थुप्रै सन्तानमध्ये अहिले म मात्र बाँचेको छु । आमा गृहिणी हुनुहुन्थ्यो भने बा खेतीपाती गर्नुहुन्थ्यो । हामी सानो छँदाको खोटाङ चराको गुँडजस्तो थियो । जीविका कसरी चल्छ, जीवन कसरी बाँच्छ, केही थाहा थिएन । हामी ठूलो हुँदाको खोटाङचाहिँ विकट । कम चेतना भएको, स्थानीयहरू कष्टकर जिन्दगी जिउन बाध्य भएका, बाढीपैरोले सताएको, आयस्ता भए पनि बाटो नखुलेको अवस्था थियो ।
कखरा बा र बाजेले काठको पाटीमा धुलो बनाएर लेख्न र चिन्न सिकाउनुभयो । हामी फुच्चे हुँदा गाउँलेहरूको पहलमा शीतला मा.वि. खुल्यो । त्यसभन्दा पहिला स्कुल नामको कुनै चरो थिएन । म त्यहीँ एक कक्षामा भर्ना भएर पढ्न थालेँ । सात कक्षादेखि धरानमा चन्द्र सांग वेद विद्यालयमा भर्ना भएर पढेँ ।
गाउँको स्कुलमा विद्यार्थीहरूको पहिरनको कैरन पनि बडो गजबको थियो । कहाँको किताब कहाँको कापी † तीनवटा खल्ती भएको दौरा लगाइन्थ्यो । दायाँ खल्तीमा बाँसको कलम, बायाँ खल्तीमा पाटीमा छर्ने माटो अनि अगाडिपट्टि खाजा मकै । त्यसपछि टाउकामा पाटी झुन्ड्याएर स्कुल जान्थेँ ।
हामी ब्रतबन्ध भएका केटाहरू लगौँटी लगाउँथ्यौँ तर ब्रतबन्ध नहुनेहरू त एकदमै चरीनंगन भएरै १५ मिनेट टाढाको स्कुल पुग्थे । सानोमा म लाटो, वाल्ल परेर हेर्ने र डराउने स्वभावको थिएँ । मैले नियमित स्कुल पढ्न पाइनँ, खण्डित तालले पढ्दै गएँ । न मोटो न दुब्लो, ठिक्कको शरीरको बच्चा थिएँ । ठूलो जिउडालका मानिस देख्दा मलाई औधी डर लाग्थ्यो ।
स्कुल पढ्दा संस्कृत विषय साह्रै गाह्रो । गुरु कक्षामा ‘अमरकोश’ का हरफहरू कण्ठस्थ सोध्थे । पाठ बुझाउन नसक्दा जति हरफ छुट्यो त्यति नै पटक चार हातखुट्टा टेकेर स्याल बन्दै म हाउ–हाउ कराएको छु । प्राय: संस्कृत विषयमा अरू साथीले पनि कहिले कुखुरा र कहिले स्याल बनेर खुबै कराउन पथ्र्यो । राम्ररी कराएन भने स्यालले लात पनि खानुपथ्र्यो ।
म ८ वर्षको थिएँ । मेरै उमेरकी थिई सार्के दमाईंकी छोरी फुलौरी । उसको करेसामा कुलो बग्थ्यो । ऊसँग पानी छ्यापाछ्याप खेल्न खुबै मन लाग्थ्यो । मौका मिल्नासाथ चौका ठोक्दै फुलौरीसँग खेल्न पुगिहाल्थेँ । उसले मेरो आँखामा अनि मैले उसको आँखामा लोकभाका गाउँदै पानी छ्यापेको र फुलौरीले आँखा छोपेको म अहिले पनि खुबै सम्झिन्छु ।
भाइले चकचक गरेकोमा म कुटाइ खान्थेँ । मेलोमा सँगै काम गर्यो, ऊ दिसा लाग्यो भनेर घर जान्थ्यो । दही, घिउ दूध चोरेर खाइदिन्थ्यो । बुबा मलाई माया गरेर बोलाउँदा ‘ठूले’ र दच्काएर बोलाउनुपरे ‘गोफ्ले’ भन्नुहुन्थ्यो । भाइले बिगार गरे पनि पक्कै यो कर्तूत गोफ्लेको हो भनेर उहाँको कुटाइ प्राय: मै खान्थेँ । हामी सानोमा डन्डिबियो, हरिगुड्डु र कान्लाबाट फाल हान्ने गाउँले खेल खेल्थ्यौँ । दुम्सीको काँढा देख्दा, समसाँझै स्यालले हुइयाँ गर्दा अथवा हाप्सिलो न्ह्याप–न्ह्याप गर्दै घरनजिकै आएर कराउँदा मेरो त सातो नै जान्थ्यो । त्यसमाथि घरका सदस्यहरूले हामी फुच्चेहरूलाई निद्राबाट जगाउनुपरे वा डर देखाउनुपरे भूतको कथा सुनाउँथे । धेरैजसो ‘सात रोटी’, ‘पाटपिटे दोचा’, ‘हग बाख्री’ र ‘पाक ताउली’ को कथा सुनाइन्थ्यो । टीका लाएर आशिष दिँदा ठूलो मान्छे हुनू भन्थे, तर आफूलाई ठूलो मान्छे कस्तो हुन्छ भन्ने थाहा थिएन । धान काट्न पाँजा पारेर निहान बनाउन, रोपारसँग नजिकिन र दूध तताउन मलाई साह्रै आनन्द आउँथ्यो । नयाँ लुगा लगाएको मान्छे देख्दा साह्रै अचम्म लाग्थ्यो । अझ घोडचढीलाई देख्दा त लाटाले पापा हेरेजस्तै हेर्थें ।
अलिपछि पहिलोचोटि गाउँको स्कुलमा सहशिक्षा लागू भयो ? केटाहरूसँगै केटीहरूले पनि पढ्न पाउने भए । मुखियाकी छोरी गोमा घोडा चढेर स्कुल आई । ऊ घोडाबाट नओर्लिउन्जेल हामी विद्यार्थीलाई फारिका (झिँजा) ले बनाएको कोठामा थुनेर राखिन्थ्यो । हामी पनि कम्ताका थिएनौँ । फारिकामा प्वाल पारेर वाल्ल र ट्वाल्ल परेर गोमा घोडाबाट ओर्लेको हानथाप गर्दै हेथ्र्यौं ।
पहाडको केटाले कलिलो हाड नघोटी हुँदैनथ्यो । गाउँले बच्चाले गर्ने काम साँचो मनले गर्नुपथ्र्यो । दूध तताउने, अँगेनामा दाउरा ल्याइदिने, आगो फुक्न सघाउने, आगो जोरेर बाल्ने, गाउँमा गएर कोइल्याँटोमा आगो मागेर ल्याउने, घर छाउँदा बदिया (खर) को मुट्ठा समाउन दिने, कोठेबारी फर्सीको मुन्टा टिप्ने र सागका डुकु भाँचेर ल्याउने गर्थें ।
मेरा साख्खै काका लक्ष्मी दाहाल धरानबाट शिक्षासम्बन्धी नर्मल तालिम लिएर गाउँमा आउनुभयो । उहाँले लुंगी फेर्न थाल्नुभयो । मैले लोग्नेमानिसले धोती फेरेको त देखेको थिएँ, लं्गी लगाएको देखेको थिइनँ । त्यो लुंगी गुन्युजस्तो बुट्टे थियो । काकालाई देखेर मेरो मुखबाट प्वाक्क निस्कियो, ‘काकाले आइमाईले जस्तो गुन्यु लगाउनुभयो ।’ मैले सुँगा रटाइजसरी चिच्याएर यो कुरा भनिरहेँ ।
काकाले मलाई ओह्रालोतिर खेद्नु भयो । म अघिअघि र उहाँ पछिपछि । म कुदेको देखेर गाउँले भुराहरू पनि कुद्न थाले । कुद्दाकुद्दै काका डङ्ग्रङ्ग्र लडेर उत्तानो पर्नुभयो । उहाँले लुंगीभित्र केही लगाउनुभएको रहेनछ । गाउँले भुराहरू सब गललल हाँस्न थालिहाले नि † उहाँलाई पछिसम्म पनि यही प्रसंग जोडेर फलानो मास्टर भनिरहे ।
वि.सं. २०२९ मा चन्द्र सांग वेद विद्यालयबाट पूर्वमध्यमा (एसएलसी) उत्तीर्ण गरेपछि मेरो विद्यालयजीवनले विश्राम पायो ।
प्रस्तुति : अनुक्रमराज
प्रतिक्रिया