एक हजार महिलालाई चालक बनाइने

काठमाडौं : एक हजार महिलालाई चालक बनाउने अभियान सुरु भएको छ । महिलाले ड्राइभिङ गर्दा दुर्घटना कम हुने भन्दै दुर्घटनाकै कारणले पीडामा परेको परिवारद्वारा गठित लक्ष्मी प्रतिष्ठानले महिलालाई चालक बनाउने अभियान सुरु गरेको हो ।
१२ पुस २०६५ मा छोरा कुमार र ०६६ असोज १७ मा अर्का छोरा बलरामको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि बाबु विष्णु गौतम र आमा लक्ष्मी गौतमको परिवारले प्रतिष्ठान बनाएर यस्तो अभियान सुरु गरेको हो । काठमाडौंको सुवानची टुर्सका प्रोपाइटर समेत रहेका कुमारको सवारी दुर्घटनामा काठमाडौंको सञ्चारग्रामनजिक मृत्यु भएको थियो । यस्तै, अमेरिकाको युनिभर्सिटी टप गरेका अर्का छोरा बलरामको अमेरिकामै सवारीदुर्घटनामा निधन भएको थियो । शोकलाई शक्तिमा बदलेर सामाजिक कार्यमा होमिएका उनीहरूले अभियानअन्तर्गत तीन वर्षभित्र एक हजार ग्रामीण तथा विपन्न महिलालाई ड्राइभिङ तालिम दिएर चालक बनाउने लक्ष्य राखेका छन् ।
अभियानअन्तर्गत काभ्रेको भकुन्डेबेँसी क्षेत्रमा ड्राइभिङ तालिमका लागि छनोट सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले बताए । ‘दुई छोरा दुर्घटनामा गुमाउनु पर्दाको पीडा कम गर्न हामीले ट्राफिक जनचेतना कार्यक्रम गर्ने सोच बनायौँ, ट्राफिककै तथ्यांकले महिला सवारीचालकबाट दुर्घटना भएका घटना विरलै रहेछन्,’ उनले भने, ‘त्यसैले तीन वर्षभित्र एक हजार महिलालाई सफल चालक बनाउने लक्ष्य राखेका छौँ ।’ उनका अनुसार पहिलो चरणमा अहिले काभ्रेको भकुन्डेबेँसीमा ६४ महिलालाई ड्राइभिङ तालिम दिइँदै छ । तालिमका लागि काभ्रेका खनालथोक, फूलबारी, कानपुर, नारायणस्थान, मेच्चेलगायत र सिन्धुलीको दुम्जालगायत क्षेत्रका गरी एक सय ६२ जना महिलाले तालिमका लागि निवेदन दिएको उनले बताए । ६४ छनोट गरेर मंसिर २ गतेदेखि तालिमै सुरु गरिने भएको छ । (सौस)

प्रतिक्रिया