काठमाडौं : एचआइभी एड्स तथा यौनरोगीको संख्यामा कमी ल्याउने र एचआइभीको उपचार सेवामा पहुँच बढाउने उद्देश्यले पोखरामा चारदिने राष्ट्रिय सम्मेलन हुने भएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले १६ देखि १९ मंसिरसम्म सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपालसहित विभिन्न देशका दुई हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहने केन्द्रका निर्देशक डा. केके राईले बताए ।
‘एचआइभी सेवामा पहुँच बढाई सहस्राब्दी लक्ष्य प्राप्त गरौँ’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा सरोकारवाला, नीतिनिर्माता, वैज्ञानिक, अनुसन्धान तथा शोधकर्ता र संक्रमित तथा प्रभावितबीच अन्तरक्रिया गराइनेछ । एचआइभी एड्सबारे विभिन्न अनुभव आदानप्रदान गरी वैज्ञानिक ज्ञानलाई प्रवद्र्धन गर्न सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा पाँच प्लेनरी सत्र, ६० वैज्ञानिक सत्र र १० क्षमता अभिवृद्धि सत्र सञ्चालन हुनेछ । यस्तै, ७५ पोस्टर प्रदर्शनी र १५ फिल्म प्रदर्शनी हुने बताइएको छ । एचआइभीलाई परास्त गर्ने विभिन्न रणनीतिलगायत आगामी वर्षमा गरिने लगानी रणनीतिका विषयमा पनि सम्मेलनमा छलफल हुने निर्देशक राईले बताए । सम्मेलनका तयारी पूरा भइसकेको छ । (सौस)
प्रतिक्रिया