‘राष्ट्रपतिलाई राजा बनाउन खोजिदैँछ’

काठमाडौं : शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरूले राष्ट्रपति डा. रामवरण यादवलाई उचालेर राजा बनाउन खोजेको आरोप लगाएका छन् । संवैधानिक राष्ट्रपतिलाई उक्साएर असंवैधानिक काम गराउन विपक्षी दलहरू उद्यत रहेको उनको जिकिर छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले कार्यकारी अधिकार भएको सरकारले गरेका निर्णय संवैधानिक राष्ट्रपतिले मान्नै पर्ने जिकिर गरे । सरकारले ल्याउने बजेट अध्यादेश पनि राष्ट्रपतिले स्वीकार गर्नुपर्ने उनको जिकिर छ । ‘कार्यकारी सरकारले गरेका निर्णय सेरेमोनियल राष्ट्रपतिले स्विकार्नै पर्छ । उनीसित सरकारले ल्याउने पूर्णबजेट स्विकार्नुको विकल्प नै छैन,’ मन्त्री रायमाझीले भने ।
वर्तमान सरकार कामचलाउ नभएको दाबी  पनि मन्त्री रायमाझीले गरे । संविधानसभा विघटन भएको अवस्थामा सरकार कामचलाउ भए त्यही संविधानसभाबाट निर्वाचित राष्ट्रपति पनि कामचलाउ भएको उनको जिकिर छ । उनले भने, ‘सरकारलाई कामचलाउ भन्ने हो भने राष्ट्रपति पनि कामचलाउ भइसकेका छन् ।’  उनले विपक्षी दलहरूले कुर्सीमा केन्द्रित भएर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद छाड्नुपर्ने माग गरिरहेको दाबीसमेत गरे । (सौस)

प्रतिक्रिया