‘निरंकशुता फर्काउन केही शक्ति लागेका छन्’

काभ्रे, २४ कात्तिक । काठमाडौं विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक संक्रमणकाल लम्बिएकाले नयाँ नेपाल निर्माणमा ढिलाई भएको बताएका छन् ।
काठमाडौं विश्वविद्यालयको शुक्रबार धुलिखेलस्थित चौकोटमा आयोजित १८ औं दीक्षान्त समारोहमा उनले भने, ‘रात सकिएर विहान हुन निष्पट अँध्यारो छिचोल्न संकट भए जस्तै मुलक अहिले त्यस्तै निष्पट अँध्यारोबाट विहानी तर्फ लम्किदै गरेको छ ।’
उनले छिट्टै मुलुकको गतिरोध अन्त्य भए पछि निकास आउने उल्लेख गरे ।
‘जनआन्दोलन र जनयुद्धको भट्टीबाट दीक्षित जनतालाई निरकुशंतामा फर्काउन नेपालका केहि शक्ति लागेका छन्,’ उनले भने, ‘यो अभियानमा कोही सफल हुन सक्दैन ।’ उनले कुन शक्ति निरंकुशता फर्काउन लागेको हो त्यस बारेमा केही बताएनन् ।
दीक्षान्त समारोहसम्म आइपुग्दा काठमाडौं विश्वविद्यालयले ५ हजार २ सय ७२ जना एमवीवीएस चिकित्सक १ सय ५२ जना बीएस्सी इन नर्सिङ्ग विद्यार्थी उत्पादन गरिसकेको छ ।
शुक्रबार मात्रै एमवीवीएसमा ५ सय ७५ जना र बीएस्सी नर्सिङ्गमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् ।
उपकुलपति डा. शुरेसराज शर्माले विपन्नताको काराणले सामान्य रोगको उपचार गर्न नसक्नेहरुको समूहलाई समेत स्वास्थ्य क्षेत्रमा पहँुच पुराउन चिकित्सकहरुले ध्यान दिनु पर्ने बताए ।
नेपालमा पछिल्लो तथ्याङ्क अनुसार १५ हजार चिकित्सक र उतिकै संख्यामा नर्स तथा प्यारामेडीजेज कार्यरत छन् ।
यस वर्ष विश्व विद्यालय अन्तर्गतका १४ वटा मेडिकल कलेजहरु मध्येबाट पोखरा मणिपाल कलेज अफ मेडिकल साइन्सेजवका विनय बस्याललाई भाइसचान्सलर स्वर्णपदक प्रदान गरिएको छ । बस्यालले एमवीवीएसमा ८१ दशमलव २८ प्रतिशत अकं प्राप्त गरेका थिए ।

प्रतिक्रिया