उद्योगी व्यवसायीको प्रतिवेदन सार्वजनिक

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको व्यावसायिक वातावरण एवं उद्यमी–व्यवसायीको आत्मविश्वाससम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उद्योग सचिव कृष्ण ज्ञवालीले सो प्रतिवेदन सार्वजनिक गर्दै उद्योगधन्दाको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । औद्योगिक वातावरण निर्माणमा निजी क्षेत्रको अहम् भूमिका हुने उल्लेख गर्दै उनले त्यसमा सरकार सहजकर्ताको भूमिका निर्वाह गर्न दृढ रहेकोमा जोड दिए ।

अन्तरसरकारी निकायबीच समझदारी एवं समन्वय हुनुपर्नेमा जोड दिँदै सचिव ज्ञवालीले सरोकारवाला सबैको सामूहिक प्रयासबाट मात्र लक्षित उद्देश्य हासिल गर्न सकिने बताए । प्रतिवेदन तयारीमा सहयोग पुर्‍याउने अमेरिकी सहयोग नियोगका प्रतिनिधि फिलिप ब्रटनले नेपालको आर्थिक–सामाजिक विकासमा आºनो संस्थाले सक्दो सहयोग गर्दै आएको र त्यसलाई निरन्तरता दिन आफू क्रियाशील रहेको बताए ।
प्रतिवेदनबारे जानकारी दिँदै त्यसका लेखक विकासराज सत्यालले राजनीतिक अस्थिरताका कारण देशका उद्योग प्रतिष्ठानले अपेक्षाअनुरूप प्रगति गर्न नसकेको उल्लेख गरे । सो अवसरमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदीप चापागाईंले प्रतिवेदनले औँल्याएका सकारात्मक विषयलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । महासंघका कार्यवाहक अध्यक्ष भवानी राणाको सभापतित्वमा भएको सो कार्यक्रममा महासंघका महानिर्देशक हेमन्त दवाडीले रुग्ण उद्योगको उत्थानका लागि प्रतिवेदन सहयोगी हुने विश्वास व्यक्त गरे ।
पाँचै विकास क्षेत्रका ४२ जिल्लाका चार सय ३ जनासँग तीन महिना लगाएर प्रमुख १० प्रश्नावलीमा केन्द्रित प्रतिवेदनले उत्पादन, रोजगारी, उत्पादन लागत, कम्पनीको मुनाफा, आयात–निर्यात, व्यावसायिक प्रतिष्ठानको समग्र अवस्था, महँगी, बैंक ऋण, देशको समग्र अर्थतन्त्र र नेपालको अर्थव्यवस्थाका चुनौतीलाई सम्बोधन गरेको छ । महासंघसँग आबद्ध ५४ वटा व्यावसायिक प्रतिष्ठान र ३४९ व्यवसायीलाई सर्वेक्षणमा सामेल गराइएको प्रतिवेदनमा उल्लेख छ । (सौस)

प्रतिक्रिया