गजलमा युवा

‘सप्तरंगी टीका–माला अर्को साललाई राख बैनी
आउँदो भाइटीकामा मलाई अलि छिटै डाक बैनी’
भाइटीका आउन अझै हप्तादिन छ । युवा गजलकार रामकृष्ण पौडेलले भने माथिको शेर तयार पारिसके । विदेश गएर बहिनीको हातको टीका लगाउन नपाएका अनि त्यसका लागि तड्पिएका दाजुभाइको पीडा अनि चाहनालाई आफ्ना रदिफ र काफियामा सजाएका छन् उनले । दसैँ आउनुअघि पनि झुपडीका दसैँबारे लेखिएको गजल फेसबुक वालमा पोस्ट गरेका थिए पौडेलले । उनका भावुक पंक्तिहरूले थुपै्र ‘फ्रेन्ड’ को मन छोएछ । कमेन्टले वाल पोस्ट भरियो । सेयर गर्ने पनि दशजना पुगिसके । ‘यो गजल भने फेसबुकमा पोस्ट गर्नै बाँकी छ,’ रामकृष्णले सुनाए ।
२०५८ सालदेखिको चार–पाँच वर्षमा चितवनको साहित्यिक भिडमा गजलको माहोल निकै तात्यो । विशेष गरी युवाहरूबीच गजलको आकर्षण घनीभूत भएर गयो । स्थानीय एफएम रेडियोले सञ्चालन गर्ने साहित्यिक कार्यक्रममा कलेज पढ्ने युवाहरूको थेगिनसक्नु सहभागिता हुन थाल्यो । प्राय: सबैका सिर्जना गजलै हुन्थे । त्यही भिडका प्रतिनिधि हुन्, रामकृष्ण । गजलका व्याकरण नजाने पनि भावहरूले यिनलाई भुतुक्कै हुने गरी छुन थालेका थिए । रहरैरहरमा गजलतिरै पसेका उनी अब यसमै रमाउन अभ्यस्त भइसके । ‘न रदिफ आउँथ्यो, न काफियाको नियम नै’, रामकृष्ण सम्झन्छन्, ‘अनायसै गजलको आकर्षणले तान्यो ।’ अनायासै साहित्यप्रेमी हुन पुगेपछि उनले आफ्नो निकनेम बनाए– ‘अनायास’ । अग्रजहरूसँग रदिफ सिके, काफिया बुझे अनि बिस्तारै आफूलाई परिष्कृत गर्दै लगे । अहिले तीन सयको हाराहारीमा पुगिसके उनका गजल ।
चितवनले ०६० सालको आसपास एउटा उपमा नै पाएको थियो, ‘गजलको राजधानी’ । साहित्यमा प्रवेश गर्ने चाहना बोकेका युवाहरूलाई त्यो समय उर्वर पनि बन्यो । अग्रजहरूको साथ पाए नयाँ पिँढीले । सोही समयमा युवा गजलकारका विभिन्न समूह गठन भए । तर, कतिपय युवाबीच बाटोबाटै फर्किए । समय त्यही थियो, नीरज भट्टले पनि आफूलाई गजलप्रेमीहरूको भिडमा समाहित गराए । उनको उद्देश्य फरक थियो । विद्यार्थी राजनीतिमा सक्रिय नीरजले युवा विद्यार्थीहरूलाई आफूतर्फ आकर्षित गराउन गजलको साथ लिए । ‘गजलले सहपाठीहरूको मन जित्न सकिन्थ्यो, माहोल नै त्यस्तै भएकाले मैले पनि राजनीतिको जाल त्यसै गरी फ्याँके’, नीरज सुरुआती समय सम्झँदै छन् । केही शृंगारिक, केही समसामयिक गजल रचना गर्दै आए उनी :
‘यो सहरमा बोक्सीहरू नै धामी छन् र पो म पागल छु
सज्जन भनिएका झनै हरामी छन् र पो म पागल छु ।’
उनका यस्ता रचनाले साथीभाइबीच वाहवाही पाए । उमेरअनुसार खुल्ने साथीभाइकै कुरा उनीहरूका जस्तै बनाएर गजलका शेरमा सुनाइदिए । आफ्ना भोगाइ पनि पोखे रे उनले । मुक्तकबाट साहित्यको यात्रामा प्रवेश गरेका नीरजले आफ्ना रचना संग्रह गरेर राखे । अहिले गजलसंग्रह पनि प्रकाशित गरिसकेका छन् । ‘तिमै्र लागि अनामिका’ नामको गजल संग्रहमा एक सय ११ वटा गजल समेटेका छन् नीरजले । चार सयको हाराहारीमा गजल रचना गरेका उनीसँग साहित्यमा रुचि भएर व्यस्ततामा बाँधिएका पाठकका लागि गजल प्रभावकारी हुने गरेको अनुभव छ । सामान्यत: चुलबुले प्रवृत्तिका युवा पुस्ता छिटा र छोटा सिर्जना नै रुचाउँछन् । समूहसमूहमा रहेका साथीबीच मुक्तकका टुक्रा सुनाउँदै लोकप्रियता बटुलेका नीरज पनि हिजोआज रचना सेयरको माध्यम फेसबुकलाई नै बनाउँछन् । पछिल्लोपटक उनले आफ्नो फेसबुकमा पोस्ट गरेका शेर यस्ता छन्–
‘उड्दै आई एउटी चरी मेरो मनको बस्तीभित्र
बस्छु भन्छे सधैँभरि मेरो मनको बस्तीभित्र
दया लाग्छ, माया लाग्छ उसको निर्दोष आँखा देख्दा
के पाउली र कठैबरी मेरो मनको बस्तीभित्र ?’
२०२१ सालबाट सुरु भएको चितवनको साहित्यिक गारेटोमा धेरैले पाइला चाले । कोही हराए । कोही बीचमै रोकिए त कोहीले गोरेटो नै परिवर्तन गरे । पुराना पुस्ताले जतन गर्दै आजको अवस्थासम्म ल्याइपुर्‍याएको चितवनको साहित्यिक यात्रा भने अनवरत रूपले अघि बढिरहेको छ । तर, युवाहरूमा सम्बन्धित विधाबारे राम्रो जानकारी नराखीकनै गजलमा हाम फाल्ने प्रवृत्ति बढ्दै गएको युवा साहित्यकार भूपिन व्याकुल बताउँछन् ।
‘साहित्य रचना गर्न अध्ययन र अनुभव दुवै आवश्यक पर्छ । अनुभव मात्रैले साहित्यिक कलालाई निर्खान सक्दैन, त्यसका लागि अध्ययन संस्कृति पनि मजबुत हुन आवश्यक छ । नवसर्जकमा यसको कमी छ,’ भूपिनको बुझाइ । नवप्रवेशीहरूलाई अध्ययनसंस्कृति बढाउन सुझाउँछन् उनी । नबुझी लाग्नेहरूले साहित्यका दुई–तीन माइलको यात्रा पनि तय नगरी बीचैमा छाडेर जाने प्रवृत्ति बढेको उनले बताए ।

प्रतिक्रिया