आन्दोलन गर्ने भन्दै निस्के कोइराला

काठमाडौं, २४ कात्तिक । विपक्षी दलहरू पनि डा. बाबुराम भट्टराई नेतृत्वकै सरकारमा सहभागी भएर संविधानसभाको नयाँ चुनावमा जानुपर्ने एमाओवादीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।
लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष दाहाल निवासमा बिहीबार भएको भेटमा दाहालले फेरि पुरानै प्रस्ताव राखेपछि कांग्रेस नेताहरूले अस्वीकार गरेका हुन् । बरु सहमति नभएपछि कांग्रेस नेताहरू एमाओवादी अध्यक्ष दाहाललाई विपक्षीले गर्ने आन्दोलनको जानकारी दिएर फर्किएका थिए । भेटमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमति नभए आन्दोलनबाटै सरकार ढाल्ने जवाफ दिएर आफूहरू फर्किएको बताए ।
कांग्रेस उपसभापति पौडेलका अनुसार दाहालले कांग्रेस नेतृत्वको सहमतीय सरकार बनाउन अरू दललाई मनाउन नसकेको बताएका थिए । ‘उहाँहरूले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय चुनावी सरकार गठनको कुरा गर्नुभयो,’ दाहालसँगको भेटपछि कांग्रेस उपसभापति पौडेलले सञ्चारकर्मीसँग भने, ‘हामीले असहमति जनायौँ ।’
बजेट, सरकार गठनलगायत विषयमा छलफल गर्न कांग्रेस सभापति सुशील कोइराला पार्टीका नेताहरूसहित बिहीबार दाहाल निवास पुगेका थिए । दाहालसँग कुरा नमिलेपछि कांग्रेस नेताहरू आधा घन्टामै बाहिरिएका थिए । भेटमा एमाओवादी अध्यक्ष दाहालले अरू विषयमा सहमति नजुटे पनि पूर्णबजेटमा सहमति जनाउन कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए । कांग्रेस नेताहरूले भने भट्टराई सरकारले बजेट ल्याउन नसक्ने अडान सुनाएका थिए ।
‘चुनाव र बजेट दुवै कुरा वर्तमान सरकार नहटेसम्म हुँदैन भन्ने अडान राख्यौँ,’ पौडेलले भने, ‘अर्को सहमतीय सरकार नबनेसम्म बजेट ल्याउने र चुनाव गर्ने कुरा हुन सक्दैन ।’

प्रतिक्रिया