दुर्घटनामा दुईको मृत्यु

राजविराज, २४ कात्तिक । सप्तरीको पँसेरामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३२ यात्रुमध्ये १२ को अवस्था गम्भीर छ ।

राजविराजबाट वीरगन्ज जाँदै गरेको ना.४ख ६६३३ नम्बरको कालिका ट्राभल्स तथा काठमाडौंबाट पूर्व आइरहेको ना.४ख ४५३५ नम्बरको देउराली यातायात बिहान पौने ७ बजे सप्तरीको पँसेरा–७ स्थित अमाहामा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घटनामा कालिका ट्राभल्सका चालक राजविराज–८ का ३६ वर्षीय रामचन्द्र गुप्ताको घटनास्थलमै र सोही बसका यात्रु राजविराज–७ का ३५ वर्षीय दिनेश देवको उपचारार्थ सिरहाको लहान लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीव्र गतिमा रहेका दुवै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कडरबोना, कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए ।
दुर्घटनामा दुवै बसका ३२ यात्रु घाइते भएका छन् । तीमध्ये रौतहट का ४५ वर्षीय अरुणकुमार सिंह, झापा दमक–१३ का २२ वर्षीय तोया खनाल तथा ५० वर्षीय तिलक खनाल, सप्तरी वरही वीरपुर–४ का ६० वर्षीया कौशिला मियाँ तथा वडा नम्बर ५ का ४० वर्षीय दिनेश यादव, गम्भीर घाइते भएका छन् । यस्तै, मलेठ–४ का ५० वर्षीय मोहमद हुसेन, राजविराज–७ का दिनेश यादव, वडा नम्बर १० का ५० वर्षीय रुन्दि यादव, वडा नम्बर ४ का २५ वर्षीय सञ्जय साह र वडा नम्बर १० का शैलुु यादव, बारा रामपुर तोकला–४ का ३० वर्षीय रमेश महतो, खोटाङका १९ वर्षीय रबिन बस्नेतलगायत १२ यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको धरान, विराटनगर, लहान र राजविराजमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका गुप्ता र देवको परिवार शोकमा डुबेको छ । पतिको मृत्युको खबरले गुप्ताकी पत्नी कुन्तिदेवी बेहोस भएकी छन् भने गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया