गाविस सचिवद्वारा एक महिनामा तीन लाख भ्रष्टाचार

भक्तपुर, २४ कात्तिक । वागेश्वरी गाविसका सचिव विष्णुप्रसाद सुवेदीले गाविस कार्यालयमा हुने कामकाजमा रसिदसमेत नकाटी भ्रष्टाचार गरेका छन् । भ्रष्टाचारको आरोपपछि जिल्ला विकास समितिले सुवेदीलाई गाविसबाट तानेर जिविसमै हाजिर गराएको छ र भ्रष्टाचार गरेको रकमसमेत असुली गरेको छ ।

सचिवले एक महिनाको अवधिमा दुई लाख ९१ हजार आठ सय ७१ रुपियाँ भ्रष्टाचार गरेको पाइएको छ । उनले राजस्वसमेत छली गरेको पाइएपछि कारबाही गरिएको हो । स्थानीय दलीय संयन्त्रले गाविस भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै कारबाहीको माग गरेका छन् । सचिव सुवेदीले घरबाटो सिफारिस, चार किल्ला प्रमाणित, कार्यालय सञ्चालन, सामाजिक सेवा अनुदानलगायतमा भ्रष्टाचार गरेको पाइएको छ । यस्तै, सार्वजनिक खर्चलगायत विभिन्न शीर्षकमा सुवेदीले भ्रष्टाचार गरेको प्रमाणित भएको छ ।
सुवेदीले गाविसमा संकलित राजस्वको रसिद नै नकाटी २३ वटा सिफारिस मालपोत कार्यालयलाई गरेका थिए । दलीय संयन्त्रले मालपोत कार्यालयबाट प्रमाण जुटाएपछि जिविसले सचिव सुवेदीलाई कारबाही गरेको हो । मालपोतमा गरिएको सिफारिसबापत मात्र सुवेदीले २ लाख १५ हजार ७ सय ५० रुपियाँ राजस्व छलेर भ्रष्टाचार गरेको पाइएको छ ।
सचिव सुवेदीले कार्यालय सञ्चालनमा ३१ हजार २ सय ३८ रुपियाँ भ्रष्टाचार गरेका छन् । उनले सामाजिक सेवा अनुदानमा ५ हजार, विविध खर्चमा १२ हजार ९ सय, सार्वजनिक खर्चमा २७ हजार रुपियाँ अनियमितता गरेका थिए । उनले गाविसको थप रकमसमेत अनियमितता गरेको आशंकामा छानबिन भइरहेको दलीय संयन्त्रमा नेपाली कांग्रेसका प्रतिनिधि यादव अधिकारीले बताए ।
गाविस सचिव सुवेदीले विनाकार्यक्रम रकम निकासा गरेको, कतिपय नक्कली कार्यक्रम देखाएर रकम निकासा गरेको, रकम लैजानेसँगसमेत आधा रकम माग्ने गरेको पाइएको छ । आर्थिक अनुदान शीर्षक देखाउँदै जथाभावी चेक काटेर रकम भ्रष्टाचार गरेको एमालेका प्रतिनिधि राजु अधिकारीले बताए ।
सुवेदीले गाविसमा आएको एक सातामै मोटरसाइकल खरिदका लागि दुई लाख रुपियाँ निकासा गर्न खोजेका थिए । यस्तै, उनले गाविसको माइन्युटसमेत केरमेट गरेको, गाउँ परिषद्मा पेस नै नभएका कार्यक्रमको शीर्षकमा बजेट निकासा गरेको पाइएको छ । सुवेदीले भ्रष्टाचार गरेको प्रमाणित भएपछि जिल्ला विकास समितिले चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पेस गरेको प्रतिवेदनमा सचिव सुवेदीले आर्थिक अनियमितता गरेको २ लाख ९१ हजार ८ सय ७१ रुपियाँ असुली गर्न माग गरिएको थियो । जिविसले सो रकम सचिव सुवेदीसँग असुली गरेर गाविसमा फिर्ता पठाएको एलडिओ राजेन्द्रकुमार केसीले जानकारी दिए ।

प्रतिक्रिया