लुटपाटका अभियुक्त पुर्पक्षमा

पर्वत, २४ कात्तिक । चित्रे–७ की पवित्रा गुरुङको घरमा रहेको दुई सय तोला सुन र २५ लाख रुपियाँ डकैतीमा संलग्न अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

पर्वत जिल्ला अदालतले अभियुक्तमध्ये चारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने लुटपाट गरेको सुन किन्ने अभियुक्तसँग १८ लाख रुपियाँ धरौटी माग गरिएको छ ।
अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश हो । अदालतले स्याङ्जा फेदीखोला–७ घर भई पोखरा–१७ बस्ने ४७ वर्षीय वीरबहादुर विक, गुल्मी दुबिचौर–९ घर भई पोखरा–६ बस्ने ४२ वर्षीय श्याम खड्का भन्ने रामबहादुर खड्का, म्याग्दी ओखरबोट–१ घर भई पोखरा–१५ बस्ने ३० वर्षीय रशबहादुर घर्ती मगर, रोल्पा थवाङ–८ घर भई पोखरा–२ अर्चलबोट बस्ने २० वर्षीय सविन बुढालाई पुर्पक्षमा पठाएको हो ।
यस्तै, चोरीको सुन किन्ने पोखरास्थित देउराली सुनचाँदी पसलका सञ्चालक राजेन्द्र रसाइलीलाई पनि अदालतले माग गरेको १८ लाख रुपियाँ धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरूले १२ असोजमा गुरुङको घरमा २५ लाख रुपियाँ र दुई सय तोला सुनसहित एक करोड ४८ लाख ४७ हजार रुपियाँ बराबरको सुन र नगद चोरी गरेका थिए ।

प्रतिक्रिया