एमाओवादी प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौं, २३ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन पुनः गरेको आग्रहलाई कांग्रेसले अस्वीकार गरिदिएको छ ।
दाहाल निवास लाजिम्पाटमा आज विहान भएको कांग्रेस सभापति सुशील कोइरालासहितका नेताहरुसँगको भेटबार्तामा अध्यक्ष दाहालले सरकारमा सहभागी भएर पूर्ण बजेट ल्याउन दिन आग्रह गरे । कांग्रेसले प्रधानमन्त्री भट्टराईको बहिर्गमन नहुँदा सम्म मुलुकले निकास पाउन नसक्ने जनाएको थियो ।
भेटबार्ता पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष दाहालले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गरेको जानकारी दिए । ‘वर्तमान सरकार रहे सम्म बजेट र नयाँ निर्वाचन हुन सक्दैन,’ दाहाललाई कोइरालाले दिएको जवाफ उदृत गर्दै उनले भने, ‘सरकारमा सहभागी हुँदैनौ ।’
उपसभापति पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाएर पूर्ण बजेट र नयाँ निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।
भेटबार्तामा एमाओवादी अध्यक्ष दाहाल, सभापति सुशील कोइराला, उपसभापति पौडेललगायतका नेताहरुको सहभागिता रहेको थियो । विपक्षी दलहरुले बजेट रोक्न राष्ट्रपतिलाई लिखित आग्रह गर्ने तयारी गरे लगत्तै एमाओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया