तीन अर्ब डलर लगानी गर्ने गरी एपेकसँग सम्झौता

काठमाडौं, २३ कात्तिक । लुम्बिनी क्षेत्रको विकास योजना अगाडि बढाउन बृहत्तर लुम्बिनी विकास निर्देशक समिति र एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन (एपेक) फाउन्डेसनबीच सम्झौता भएको छ । निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल र एपेकका कार्यकारी उपाध्यक्ष सिआओ उनानले राजधानीको होटल सोल्टीमा बुधबार साँझ आयोजित कार्यक्रममा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने योजनासहितको समझदारीपत्रमा हस्तक्षर गरेका हुन् ।
समझदारीपत्रमा हस्ताक्षरपछि निर्देशक समितिका अध्यक्ष दाहालले पटक–पटकको छलफलपछि एपेक लगानी गर्न तयार भएको भन्दै एपेकलाई धन्यवाद दिए । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले समेत आफूसँगको भेटमा लुम्बिनी क्षेत्रको विकासका लागि सहयोग गर्ने वचन दिएको उल्लेख गर्दै दाहालले अब विश्वको ध्यान लुम्बिनीमा केन्द्रित हुने विश्वास व्यक्त गरे । गत वर्ष दाहाल नेतृत्वको टोलीले अमेरिकाको न्युयोर्क पुगेर महासचिव मुनलाई भेट गरी लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सहयोग जुटाइदिन आग्रह गरेको थियो ।
एपेकका कार्यकारी उपाध्यक्ष उनानले लुम्बिनीको विकासले पर्यटनमा मात्र होइन समग्र आर्थिक क्षेत्रका साथै ‘पिस सिटी’को अवधारणाले नेपालको शान्तिप्रक्रियामै सघाउ पुग्ने बताए ।
यसअघि पर्यटन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए । लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले गत वर्षको ३० असोजमा एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा निर्देशक समिति गठन गरेको थियो । समितिमा मोहम्मद वकिल मुसलमान, डा. मीनेन्द्र रिजाल, मंगलसिद्धि मानन्धर, मनोजबहादुर श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष सदस्य छन् । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा रिजाल र मानन्धर अनुपस्थित थिए ।
समिति र एपेकको समझदारीपत्र भने सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार लुम्बिनीलाई शान्ति सहर (पिस सिटी), बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल र पर्यटकीय क्षेत्र बनाउनका लागि विकास योजना अगाडि बढाइने समझदारीपत्रमा उल्लेख छ । समझदारीअनुसार लुम्बिनीको विकासका लागि बौद्धमार्गी संस्कृति संरक्षण क्षेत्र र नेपाल–चीन बौद्धमार्गी संस्कृति आदानप्रदान गरिनेछ । वार्षिक ५० लाख पर्यटक लुम्बिनी भित्र्याउन लुम्बिनी नगर विकास परियोजनाअनुसार विमानस्थल, सडक, होटल र सम्मेलन केन्द्र निर्माण गरिनेछ । एपेकले लुम्बिनीमा सञ्चार, पानी र विद्युत् आपूर्तिमा समेत लगानी गर्न चासो व्यक्त गरेको छ । लुम्बिनीको विकासले नेपालमा पर्यटन वृद्धि गरी राजस्व बढाउने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार निर्माणमा समेत टेवा पुग्ने एपेकको विश्वास छ ।
निर्देशक समिति र एपेकबीच लुम्बिनीमा टावर र पाँचतारे होटल बनाउने समझदारी पनि भएको छ । एपेकले गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी, उनको मावली तिलौराकोट, उनले ज्ञान प्राप्त गरेको भारतको बोधगया, शिष्यहरूलाई ज्ञान बाँडेको स्थान सारनाथ र कुसी नगरलाई समेटेर पर्यटकीय क्षेत्र बनाउने योजना अगाडि सारेको छ । लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बौद्ध केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । मुस्लिमको पवित्र तीर्थस्थल मक्का र क्याथोलिकको तीर्थस्थल भ्याटिकनजस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गर्ने योजनाअनुसार काम अगाडि बढाइने एपेकले जनाएको छ ।
राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तका पालामा कान्जो टाँगेले बनाएको तीन किलोमिटर वरपरको लुम्बिनीको गुरुयोजनाभन्दा भिन्दै गुरुयोजना बनाउने एपेकको योजना छ । नयाँ गुरुयोजनामा रूपन्देही, नवलपरासी र कपिलवस्तुसहित भारतका केही क्षेत्रलाई पनि जोडिने भएको छ । निर्देशक समितिले लुम्बिनीलाई शान्तिको सहर बनाउन भारत, चीन, जापान, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघ, विश्व बैंक र युनेस्कोसँग छलफलसमेत गरेको थियो ।

प्रतिक्रिया