काठमाडौ, २३ कात्तिक । युवती हत्याको अभियोगमा १५ वर्षसम्म जापानको जेलमा बन्दी जीवन बिताएका गोविन्द मैनालीलाई जापनको उच्च अदालतले ‘सम्पूर्ण रूपमा निर्दोष’ रहेको फैसला सुनाएको छ । मुद्दा फिर्ता लिनेबारे सरकारी वकिलको निवेदन गत सोमबार उच्च अदातलमा प्रस्तुत भएपछि बुधबार बिहान बसेको उच्च न्यायालयले अन्तिम फैसला सुनाएको हो ।
जापानको उच्च अदालतले पूर्ण रूपमा निर्दाेष भएको अन्तिम फैसला सुनाएलगतै मैनालीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जापान सरकारले माफी माग्नुपर्ने बताएका छन् । ‘सिर्जनशील उमेरमा मलाई अनाहक १५ वर्ष जेलमा बन्दी बनाउने जापान सरकारले म र मेरो देशसँग माफी माग्नु पर्छ,’ मैनालीले भने, ‘जापान सरकारले म र देश नेपालसँग माफी मागे मैले केही राहत महसुस गर्नेछु ।’
जापानी प्रहरीको गलत र पूर्वाग्रही अनुसन्धानले आफूले १५ वर्षसम्म जेल जीवन बिताउनु परेको उल्लेख गर्दै उनले अन्तत: सत्यको जित भएको प्रतिक्रिया दिए । ‘जापानको उच्च अदालतको फैसलाले सत्यको जित भएको छ त्यसमा म खुसी छु,’ उनले भने । उनले आफूजस्ता हजाराँै नेपालीले अनाहकमा विदेशका जेलमा बन्दी जीवन बिताउनु परेको दाबी गर्दै उनीहरूको रिहाइका लागि नेपाल सरकारले कदम चाल्नुपर्ने बताए । भने ‘विदेशी प्रहरी र अदालतको गलत फैसलाबाट पीडित बनेका हजाराँै नेपालीबारेमा हाम्रो सरकारले केही कदम चालोस् मेरो आग्रह छ ।’
आफूलाई जापानका प्रहरीले गलत रूपमा अनुसन्धान गरी गलत रूपमै मुद्दा चलाएको उनले बताए । ‘गतल रूपमा मुद्दा चलाउने प्रहरी र अनुसन्धानकर्ताले पनि माफी माग्नु पर्छ, अनिमात्र मजस्ता पीडितले केही राहत महसुस गर्न सक्छाँै ।’ मैनालीले अनावश्यक रूपमा १५ वर्ष जेलमा बन्दी बनाई मानसिक याताना दिने जापान सरकारसँग क्षतिपूर्तिका लागि पहल गर्ने बताए । ‘मेरा कानुन व्यवसायी साथीहरूले यसको प्रक्रिया अगाडि बढाउनु भएको छ मैले क्षतिपूर्ति पाउनु पर्दछ,’ उनले भने । पत्रकार सम्मेलनमा जापानबाटै प्लेन चार्टर गरेर आइपुगेका पत्रकारहरूले जापानमा बन्दी जीवन बिताएका व्यक्तिलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था नभएको बताएका थिए । पत्रकार सम्मेलनमा दर्जन बढी जापानीज पत्रकार सहभागी थिए । पत्रकार सम्मेलनमा मैनालीका दाजु इन्द्र मैनालीले जापान सरकारले क्षतिपूर्ति दिनु पर्ने बताए ।
बुधबार बिहान ११ बजेर ३२ मिनेटमा गोविन्द निर्दोष रहेको फैसला सुनाइएको थियो । सन् १९९७ मा एक महिलालाई रेप गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जापानको तल्लो अदालतले आजीवन कारावासको सजाय तोकेको थियो । डिएनए परीक्षणमा उनी निर्दोष देखिए पनि तल्लो अदालतले दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई उच्च अदालतले बदर गरी उनलाई पूर्णत: निर्दाेष साबित गरेको हो । मैनालीले हाल आफ्नो जेलयात्रा र त्यही समयमा परिवारका प्रीयजन गुमाएको पीडासहितको पुस्तक लेखिरहेका छन् ।
प्रतिक्रिया