“प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्ने चेतावनी भ्रामक”

काठमाडौं, २२ कात्तिक । सर्वोच्च अदालतमा बहस गर्ने कानुन व्यवसायीले प्रधानन्यायाधीश खिलराज रेग्मीको बेन्च बहिष्कार गर्ने गरी नेपाल बार एसोसिएसनले दिएको चेतावनी भ्रामक भएको सर्वोच्च र जिल्ला बार एसोसिएसनले जनाएका छन् ।

सर्वोच्च बार एसोसिएसन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला बार एसोसिएसनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय बार एसोसिएसनले सोमबार जारी गरेको विज्ञप्तिमा आफूहरूको संलग्नता नरहेको बताएका छन् । प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्नेसम्बन्धी भेलामा कुनै कुरा नउठाएको तर बार एसोसिएसनका महासचिवद्वारा जारी विज्ञप्तिमा यस्तो कुरा आएकाले त्यसमा संलग्नता नरहेको मंगलबारको विज्ञप्तिमा उल्लेख छ ।
बार एसोसिएसनले सोमबार निकालेको विज्ञप्तिमा सर्वोच्च बार एसोसिएसन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला बार एसोसिएसनका वर्तमान र पूर्वपदाधिकारीले प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्ने चेतावनी दिएको उल्लेख थियो । उक्त विज्ञप्तिमा लोकतन्त्रको स्थापनापछि अन्य निरंकुशता सकिए पनि न्यायापालिकाको नेतृत्वमा निरंकुशता ज्यूँका त्यूँ रहेको उल्लेख गरिएको थियो । मंगलबारको विज्ञप्तिमा भने त्यसको खण्डन गरिएको छ ।

प्रतिक्रिया