मञ्चमा उभिएर ज्ञानेन्द्रको सम्बोधन

नवलपरासी, २२ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले नवलपरासीमा राजनीतिक दलका नेताकै शैलीमा मञ्चमा उभिएर सम्बोधन गरेका छन् । उनले घुमाउरो रूपले वर्तमान राजनीतिप्रति असन्तुष्टि राख्दै राजतन्त्र फर्किनसक्ने आशय व्यक्त गरेका थिए ।

नवलपरासीको हरपुर गाविसस्थित गोपालपुरको गोरखनाथ मन्दिरमा मंगलबार उनले झन्डै सात मिनेट लामो लिखित मन्तव्य पढेका थिए । लिखित मन्तव्य पढ्दै उनले भने, ‘अदूरदर्शी निर्णयहरू मान्न सकिने अवस्था छैन, यसप्रति सबैले विचार गर्नुपर्ने आवश्यकता छ ।’ उनको भनाइले राजतन्त्रको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना गरिएको कुरालाई संकेत गरेको बताइएको छ ।
ज्ञानेन्द्रले कुनै एक शक्तिलाई माइनस गरेर राज्य सञ्चालन हुन नसक्ने बताए । उनले आफूलाई एउटा शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको ठानिएको छ । धार्मिक कार्यक्रमले राजसंस्थाको परम्परालाई निरन्तरता दिने पनि उनले बताए । ‘गोरखमाता गोरखाकी मात्रै नभएर नेपालकै देवी हुनुहुन्छ,’ ज्ञानेन्द्रले भने ‘उहाँको शक्तिले नै हाम्रो पुस्ताले राज्यव्यवस्था चलाउँदै आएको हो, अझै पनि उहाँको शक्तिले त्यसलाई निरन्तरतातर्फ लैजान्छ ।’ ज्ञानेन्द्रको संकेत फेरि राजतन्त्र फर्कन सक्छ भन्ने थियो ।
नवलपरासीस्थित गोरखनाथ मन्दिरमा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति भारत इकाईले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हर्ताकर्ता भारतीय सभासद् तथा गोरखनाथ मन्दिरका पीठ आदित्यनाथ थिए । कार्यक्रममा केही भारतीय हिन्दू नेताको पनि सहभागिता थियो ।
कार्यक्रमका आयोजक भारतीय प्रतिनिधि रहेकाले कार्यक्रम सञ्चालन अंग्रेजी भाषामा गरिएको थियो । कार्यक्रम सञ्चालकले ज्ञानेन्द्रलाई अंग्रेजीमा ‘महाराजाधिराज ज्ञानेन्द्र’ भनेर उल्लेख गरेको पूर्वराजाका सहयोगीले जानकारी दिए । आफूलाई सम्बोधन गर्न बोलाएपछि ज्ञानेन्द्रले मञ्चमा उठेरै भाषण गरेका थिए ।
भैरहवाबाट नवलपरासीसम्म पुग्दा झन्डै सात ठाउँमा स्वागत कार्यक्रम भएको थियो । ‘ठाउँठाउँमा स्वागत गर्ने जनताको भिड थियो, ओर्लने कार्यक्रम नभए पनि मान्छेको भिड देखेर उहाँ गाडीबाट झर्नुभयो र स्वागत ग्रहण गर्नुभयो,’ एक सहयोगीले भने ।
स्वागत ग्रहण र जयजयकार सुन्दै हिँडेका ज्ञानेन्द्रलाई भैरहवाबाट नवलपरासी पुग्न झन्डै तीन घन्टा लागेको थियो । नवलपरासीको कार्यक्रम सकेर उनी फेरि भैरहवामै फर्किएका छन् । सोमबार सडक मार्ग हुँदै त्यता गएका ज्ञानेन्द्र बुधबार जहाजबाट राजधानी फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया