कैलाली, २२ कात्तिक । नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको १५ मंसिरदेखि महेन्द्रनगरमा हुने प्रथम विधान सम्मेलनको तयारी पूरा भएको जनाइएको छ । प्रथमपटक आयोजना हुने राष्ट्रिय विधान सम्मेलनले संघको सांगठनिक, राजनीतिक, आर्थिक प्रतिवेदन तयार पार्नुका साथै विधान निर्माण गर्नेछ ।
लोकतान्त्रिक संघसगठनले विधिको शासनलाई मान्यता दिनुपर्ने आवश्यकता औल्याउँदै युवा संघका केन्द्रीय उपाध्यक्ष झपट रावलले आफ्नो संगठनले व्यावहारिक रूपमा विधिको शासन कायम गर्न विधान सम्मेलनमार्फत संगठनका नीति तथा प्रतिवेदन तयार गर्न लागेको बताए ।
युवा संघले विधान सम्मेलन गर्न विभिन्न शीर्षकमा उपसमितिसमेत गठन गरेको जनाएको छ । राजनीतिक प्रतिवेदन समिति, विधान लेखन समिति, मूल व्यवस्थापन समिति, प्रस्ताव लेखन समितिलगायत कार्यगत आधारमा विभिन्न उपसमिति गठन गरिएको केन्द्रीय उपाध्यक्ष एवं मूल व्यवस्थापन समितिका संयोजक रावलले बताए ।
विधि प्रक्रिया निर्माणमा युवा संघका सबै तहका नेता कार्यकर्ताको समान सहभागिता हुने गरी विधान सम्मेलन गर्न लागिएको मंगलबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सम्मेलनमा ७५ जिल्लाका अध्यक्ष, १४ अञ्चलका अञ्चल सचिव, केन्द्रीय कमिटीका सबै सदस्य सहभागी हुने उपाध्यक्ष रावलले बताए । विधान सम्मेलनमा युवा संघका ३ सय ५० को संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता हुने रावलले बताए ।
प्रतिक्रिया