अवैध सामानसहित तामाङ पक्रउ

सिन्धुपाल्चोक, २१ कात्तिक । सिन्धुपाल्चोक जिल्लामा सीमा प्रहरी चौकी लार्चाले ठूलो परिणाममा अवैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति नियमित गस्तीका क्रममा प्रहरीले विभिन्न देशबाट ल्याईएको अवैध सामानसहित हगाम–७ का २९ बर्षीय बिनबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
चीनको खासा तर्फ लैजाँदै गरेको अस्मानी डापाया हर्बल एक साय ३५ किलो, भारतमा निर्मित हेलो स्याम्पु एक हजार एमएलको ७० थान, फ्रान्समा निर्मित सेन्ट पाँच सय ग्रामको एक साय २५ बोतल, नेदरल्याण्डमा बनेको फिलिप्स टर्चलाईट आठ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बेलायतमा बनेको अनुहार धुने क्रिम एक सय ७० ग्रामको ४० थान, ईन्डोनेसियामा बनेको वास्नादार तेल एक हजार ग्रामको दुई सय चार थान, नेपालमा निर्मित सनसिल्क स्याम्पु तीन सय ७५ ग्रामको २४ थान र स्वीजरल्याण्डमा निर्मित छालाको घडी पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।
तातोपानी भन्सार नाकाबाट लैजाँदा राजश्व तिर्न पर्ने भएकाले भोटेकोशी नदीमा तुईन हालेर नाका पार गराउँन लागेको अवस्थामा गस्ती प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया