बजेटमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौं, २१ कात्तिक । अर्थमन्त्री बर्षमान पुनले सरकारले ल्याउन लागेको पूर्ण बजेटमा सहयोग गर्न विपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालासँग उनकै निवास महाराजगञ्जमा आज भएको भेटबार्ताका क्रममा मन्त्री पुनले बजेटमा सहयोग गर्न आग्रह गरेका हुन् । मन्त्री पुनले मुलुकलाई आर्थिक संकटबाट जोगाउन बजेटमा सहयोग गर्न कांग्रेससँग आग्रह गरेको बताए ।
जवाफमा सभापति कोइरालाले राजनीतिक सहमति विना बजेट नल्याउन सुझाव दिए । उनले सरकारले सहमति विना बजेट ल्याए त्यसले दलहरु बीचको सम्बन्ध विगार्ने चेतावनी दिए ।
कात्तिक मसान्त भित्रै पूर्ण बजेट ल्याउने तयारी गरेको सरकारले विपक्षी दलहरुको सहयोगका लागि समर्थन जुटाउन परामर्श गर्दै आएको छ । कोइरालासँग सोमबार भेटबार्ता हुने कार्यक्रम भए पनि व्यस्तताका कारण आज परामर्श भएको हो ।
यस अघि अर्थमन्त्री पुनले एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरेर पूर्ण बजेटमा सहयोग गर्न आग्रह गरिसकेका छन् । यद्यपि खनालले पनि सहमति विपरित आउने बजेट नमान्ने जनाई सकेका छन् ।

प्रतिक्रिया