“सत्तारूढ दल र मन्त्रीको अभिव्यक्ति के हो ?”

काठमाडौं, २१ कात्तिक । सत्तारूढ दल एमाओवादी र सरकारका मन्त्रीहरूले नै ‘राष्ट्रपति सक्रिय शासनतर्फ उद्यत रहेको’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति डा. यादवले सोमबार एमाले अध्यक्ष खनालसँगको भेटमा सत्तारूढ दल र मन्त्रीहरूको अभिव्यक्तिप्रति दु:ख व्यक्त गरेका हुन् ।

राष्ट्रपति यादवले सत्तारूढ दल र मन्त्रीका तर्फबाट सार्वजनिक भएका अभिव्यक्तिप्रति चासो राख्दै राष्ट्रपतिले अध्यक्ष खनालको ध्यानाकर्षण गराएका थिए । ‘सत्तारूढ दलका प्रवक्ता र अर्थमन्त्रीबाट समेत किन यस्ता अभिव्यक्ति आइरहेका छन् ? यसले सहमतिको राजनीतिक यात्रा र मुलुकको भावी राजनीतिक निकासमा कस्तो असर पार्ला’ राष्ट्रपतिले आफूसँग राखेको जिज्ञासा उद्धृत गर्दै अध्यक्ष खनालले सौर्यसँग भने, ‘दलका नेताहरूलाई सामूहिक रूपमै बोलाएर मैले के गर्नुपर्ने हो, तपार्इंहरू नै भन्नुस् भनेको छु, यस्ता अमर्यादित र अशोभनीय कुरा किन आइरहेका छन् ?’
जवाफमा खनालले सत्तारूढ दल र मन्त्रीहरूका अभिव्यक्ति गैरजिम्मेवार, वाहियात र आºनो सत्ता लम्ब्याउने प्रोपोगान्डाका रूपमा आएको हुन सक्ने बताएका थिए । ‘आºनो सत्ता लम्ब्याउन प्रोपोगान्डा खडा गर्न खोजिएको हुन सक्छ,’ खनालले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री र एमाओवादी प्रवक्ताले सार्वजनिक गरेका यस्ता अशोभनीय र वाहियात कुरा धम्कीपूर्वक आएका हुन् ।’ राष्ट्रपति यादवले यसअघि आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफूविरुद्ध गरिएका अनर्गल प्रचारबारे सोधेका थिए ।
अध्यक्ष खनालसँग राष्ट्रपति डा. यादवले आफूले दलहरूको सहमतिका आधारमा संविधानसम्मत निकास चाहेको र त्यसका लागि दलका नेताहरूलाई बारम्बार आग्रह गरेको स्मरण गराएका थिए । ‘म संविधानको संरक्षक र पालकका रूपमा भूमिका खेल्छु, त्यसका लागि मैले के गर्नुपर्ने हो स्पष्ट पार्नुस् भनेर आग्रह गरेको छु,’ राष्ट्रपति यादवले खनालसँग भने, ‘तर, बाहिर–बाहिर अनावश्यक हल्ला चलाएर अस्थिरता पैदा गर्ने काम दु:खद छन् ।’ दलहरूको सहमतिका आधारमा मात्र बजेट आउनुपर्ने राष्ट्रपति यादवले एमाले अध्यक्ष खनालसँग आग्रह गरेका थिए । उनले संविधानबमोजिम बाहेक आफूले बजेट अध्यादेश जारी नगर्ने खनालसँग बताएका थिए । ‘संविधानले दलहरूको सहमतिका आधारमा मात्र अध्यादेश जारी गर्ने व्यवस्था गरेको छ, म संविधानमा व्यवस्था भएबमोजिम मात्र भूमिका निर्वाह गर्छु भन्नुभएको छ,’ खनालले सौर्यसँग भने, ‘मैले पनि प्रतिपक्षको सहमतिविना बजेट अध्यादेश जारी गरे मान्य नहुने आºनो कुरा राष्ट्रपतिसँग राखेँ ।’
राजनीतिक निकासबारे दलहरूबीच भइरहेका सहमति प्रयासबारे पनि राष्ट्रपतिले खनालसँग जिज्ञासा राखेका थिए । एमाओवादी निकासका लागि बाधक रहेको खनालको भनाइ थियो । ‘सहमतिको सरकार गठनका लागि सरकारले मार्गप्रशस्त नगर्ने अनि प्रधानमन्त्रीको उम्मेदवार माग्ने कुरा हामीलाई मान्य छैन,’ खनालले भने, ‘पहिले सरकारले मार्गप्रशस्त गरोस् अनि उम्मेदवारको कुरा आउँछ, अहिले कसरी प्रधानमन्त्रीको उम्मेदवार तोक्न सकिन्छ ?’

प्रतिक्रिया