नेवानिका २५ हजार आवेदक अलपत्र

काठमाडौं, २० कात्तिक । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि आवेदन मागेको १ वर्ष बितिसक्दा पनि परीक्षा गराउन सकेको छैन । आन्तरिक कारण भन्दै निगमले लामो समयसम्म परीक्षा सञ्चालन नगरेको हो ।
फारम भरेको एक वर्षसम्म पनि परीक्षा नहुँदा तनाव भएको आवेदकहरूको गुनासो छ । ‘परीक्षा तयारी गरेर बसेको महिनौँ भइसक्यो । अझै कहिले हुने भन्ने टुंगो छैन,’ वरिष्ठ सहायक र प्रशासन अधिकृतका लागि १२ सय रुपियाँ तिरेर फारम भरेका बानेश्वरका अनिल चापागाईले भने । उनीजस्ता हजारौँ परीक्षा हुने र निगममा जागिर खाने आशमा छन् । निगमले ०६८ कात्तिक १८ मा वरिष्ठ सहायक, वरिष्ठ लेखासहायक, लेखा अधिकृत र प्रशासन अधिकृत पदका लागि आवेदन मागेको थियो । चारवटा पदमा एक सय १९ जनाका लागि करिब २५ हजार प्रतिस्पर्धामा उत्रिएका भए पनि उनीहरूले अहिलेसम्म परीक्षा दिन पाएका छैनन् । निगमले प्रतिव्यक्ति प्रतिपद पाँच सय रुपियाँ तथा फाराम शुल्क एक सय रुपियाँ लिएको थियो ।
निगम मानव संसाधन विभागका अनुसार परीक्षा सञ्चालनका लागि स्टाफ कलेजलाई आग्रह गरिएको छ । यसअनुसार जाँच लिने र कापी परीक्षण गर्ने काम स्टाफ कलेजले गर्नेछ । परीक्षा सञ्चालनका लागि कलेजले बढी रकम माग गरेकाले समस्या भइरहेको बताइएको छ । ‘हामीले प्रतिव्यक्ति प्रतिपद पाँच सय रुपियाँ उठाएका छौँ, कलेजले सात सय रुपियाँ मागेको छ । घाटा खाएर त परीक्षा गराउने कुरा भएन,’ निगमका एक अधिकारीले भने । संख्या धेरै भएकाले आफैँले परीक्षा गराउन सक्ने अवस्था नरहेको निगमको भनाइ छ । यसअघि घाटा खाएरै भए पनि असार मसान्तसम्ममा परीक्षा गराउने निगमले दाबी गरेको थियो ।
निगमले गत वर्ष खुला गरेको माग संख्या हालसम्मकै बढी हो । परेको आवेदन संख्यामा पनि रेकर्ड नै कायम भएको छ । हवाई उडानमा निरन्तर घाटामा रहेको संस्थानले आह्वान गरेको विज्ञापनमा पदसंख्या भन्दा एक सय ९३ गुणा बढी आवेदन परेको थियो । निगमले नियमित पदपूर्तिका आवेदन खुला नगर्दा एकैचोटि धेरै आवदेन परेको कर्मचारी बताउँछन् । जागिरका लागि बाह्य व्यक्तिले दलालीसमेत थालेको भन्दै निगम व्यवस्थापनले विज्ञप्ति जारी गर्नुपरेको थियो । हाल निगममा एक हजार पाँच सय कर्मचारी छन् ।
निगम प्रवक्ता सरोजकुमार कसजू परीक्षाको लागि तयारी भइरहेको बताउँछन् । ‘प्रक्रिया सुरु भइसकेको छ । चाँडै सूचना प्रकाशित हुन्छ,’ कसजूले भने । तर, कहिलेसम्ममा परीक्षा हुने भन्नेबारे उनले यकिन साथ भन्न सकेनन् । सामान्यतया मिति तोकिएको एक महिनामा परीक्षा हुने गर्छ ।
आवेदक धेरै भएकाले पनि परीक्षाका लागि समय लागेको निगमको भनाइ छ । निगमले परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगलाई पनि अनुरोध गरेको थियो । यसअघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले निगममा रिक्त रहेका थुपै्र पदमा करारमा भर्ना गरेका थिए । यसका कारण पनि प्रतिस्पर्धात्मक परीक्षा गराउन समस्या परेको बताइएको छ । विष्टको सिफारिसमा दैनिक जागिरका लागि कार्यकर्ता निगममा पुग्ने गरेका थिए । निगम स्रोतका अनुसार विष्टको सिफारिसमा करिब ६० जना कर्मचारी करार तथा ज्यालादारीका रूपमा निगममा भर्ना भएका थिए ।

प्रतिक्रिया