पेंडाका पारखी वैष्णव

अठासी वर्षपहिले लाजिम्पाटको पुजारी परिवारमा उनको जन्म भयो । बाबुबाजे विष्णुका भक्त भएकाले निधारमा ठाडो टीका लगाउँथे । आफ्नो नामपछाडि ‘वैरागी’ लेख्थे । ‘तर अनुरागी मानिस कसरी वैरागी हुन सक्छ ? कहीँ नभएको जात्रा हाँडीगाउँमा †,’ आफ्ना बाबुबाजेको पारा पटक्कै मन परेको रहेनछ, साहित्यकार श्यामदास (मिश्र) वैष्णवलाई, ‘परिवारमा बस्ने अनि नामचाहिँ वैरागी राख्ने †,’ यति भनेपछि दाँत कीराले खाएर पूरै थोतो बनाएको मुख खोल्दै मज्जाले हाँसे यी बयोवृद्ध साहित्यकार अनि फेरि उही सिलसिला जोडे, ‘त्यसैले मैलेचाहिँ वैरागी हटाइदिएँ, अनि आफ्नो नामपछाडि वैष्णव लेख्न थालेँ ।’
सन्तानले डाँडाकाँडा ढाकेसरह उनका ३ छोरा, ४ छोरी, ७ नाति, ९ नातिनी अनि धर्मपत्नीसहितको हराभरा परिवार छ । ज्ञानेश्वरस्थित गणेशमार्गमा परिवारका १४ सदस्यसहित परिवारबीच रानो माहुरीभैँm सुशोभित भएर बसेका छन् ।
खानामा छुट्टै च्वाइस र भ्वाइस नभएका ‘वैष्णव’ लाई भेट्न कुनै बेला एक पत्रकार आएछन् । पत्रकारले ठूलो जिज्ञासाका साथ उनलाई मनपर्ने खानाबारे सोधे । उनले ‘नथिङ, केही छैन’ भनिदिएछन् । पत्यार नलागेपछि पत्रकारले नजिकै बसेकी उनकी पत्नीतिर हेर्दै सोधे– ‘हजुरलाई पक्कै थाहा होला, उहाँ के–के खान रुचाउनुहुन्छ ।’ पत्नीले भनिछन्– ‘उहाँकी अर्धांगिनी भएको जुगौँ बित्यो, मैले अहिलेसम्म उहाँलाई के मनपर्छ भन्ने चाल नै पाइनँ । जे दिए पनि मीठो मानेर खाइदिनुहुन्छ ।’ करिब साढे चार बीसको बुढ्यौलीमा पनि नियमित औषधि वा जडीबुटी प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त रहेका ‘वैष्णव’ बजार निस्केको बेला औषधिको चक्कीको सट्टा सही ठाउँबाट सही पेडा ल्याएर मुखमा क्वाप्प हाल्छन् अरे †
भोजनप्रसंगबाट मोडिएर उनी अतीततिर फर्किए । गीतिनाटकलाई मञ्चमा उतार्ने दुई प्रमुख अगुवामा उनी र जनार्दन सम हुन् अरे † ‘वैष्णव’ ले गरेको ‘राष्ट्रिय संरक्षण’ गीति नाटक पिकेमा ज्यादै सफल भयो । त्यसको फल नाचघरमा उक्त नाटक मञ्चन गर्दा पूरै १०२ दिन चल्यो ।
त्यति बेला नेपाली भाषा प्रकाशिनी समितिमा महाकवि देवकोटा मकै भुटेजस्तो पडरर्र कविता बोल्थे, वैष्णव कलमले कापीमा टिप्दै जान्थे सरर्र । यसो गरेवापत देवकोटाको तलब ८० रुपियाँ थियो भने उनको चाहिँ १५ रुपियाँ । देवकोटाको तलब पनि आपैँmले बुझेर उनकी बज्यैलाई बुझाइदिन्थे वैष्णव । समितिमा देवकोटालाई वेदव्यास र उनलाई गणेश भन्थे सबैले । कविवर माधव घिमिरेले वैष्णवलाई ‘एकलव्य’ भनेर लेखे । तर, वैष्णवचाहिँ आफूलाई सेवाभाव राख्ने पुच्छर नभएको हनुमान् देख्थे अरे ।
देवकोटासम्बन्धी थुप्रै प्रसंग नजिकबाट नियालेका छन् उनले । एक दिन देवकोटाजीले नयाँ छन्दमा केही पाना लेखेर पुष्कर समशेरलाई सुनाएछन् । पुष्करले बद्रीनाथ भट्टराई तथा अन्यसँग सल्लाह गरेर देवकोटालाई फेरि अर्कै छन्दमा लेख्न भनेछन् । एक छिनपछि बालकृष्ण सम पनि त्यहाँ आए । देवकोटाले समलाई पढ्न दिए । पढिसकेपछि समले खुबै तारिफ गरेछन् । अनि सहोदर दाजु पुस्करलाई सुनाएछन्– ‘त्यो कविता त साह्रै राम्रो पो छ त, नयाँ छन्दमा लेखिएको रहेछ ।’ एक छिनपछि पुष्कर कालो–नीलो हुँदै देवकोटानजिक आइपुगे अनि पड्किन थाले, ‘ए टपरे बाजे † तिमीले मेरो भाइलाई सिफारिस गर्न लगाएर मेरो तेजोबध गर्न पठाएका †’
यस्तो सुनेपछि देवकोटाले पनि आवेशमा आएर आफूले लेखेका जम्मै कुरो हुत्याइदिए । अनि आफ्नो बाटो लागेछन् । कुरो कर्णेलकहाँ पुग्यो, सरसल्लाह भयो । यति बेला पुष्करले देवकोटाजीसँग भनेछन्, ‘एक्कासि प्रेसर बढेर केके नचाहिने बोलेँ, माफ पाऊँ ।’ यो प्रसंग सुनाइसकेपछि लामो सुस्केरा हाले वैष्णवले अनि निष्कर्ष निकाले– ‘कुरो र कुलोले जसरी पनि आफ्नो बाटो खोजिहाल्छ ।’
पहिला–पहिला मन्दिर खुबै जान्थे वैष्णव । उनका विचारमा मन्दिर ज्ञानगुणको खानी हो । पानी कम पिउने उनी बैंसमा खुबै हिंड्थे अरे । अहिलेचाहिँ खुट्टा अलि कमजोर भएकाले घरमै तेल घसेर बस्छन् । नगई नहुने ठाउँमा मात्र जान्छन् । स्वच्छ मन अनि फरासिलो र मिजासिलो पनका धनी उनले खानेकुरामा गोलभेंडाको अचारलाई अहिले पनि छाडेका छैनन् । ‘खाजामा दूधमा ढड्याएको च्युराको स्वाद बेग्लै हुन्छ’ भन्छन् । करिब १० वटा पुस्तक लेखिसकेका र पत्रपत्रिकामा सयौँ लेख लेखिसकेका उनी अझै पनि समाचारलाई नाटकीय रूप दिएर रोचक र घोचक शैलीमा छापाका लागि स्तम्भ लेख्छन् । कसैले नमागी नलेख्ने, मन लागिसकेपछि कागज, किताब, पत्रिका जे अगाडि भेट्यो त्यसैमा लेखिहाल्ने उनको नानीदेखिको बानी रहेछ । उनको धारणा छ– ‘उच्च र विशिष्ट लेखनको नाममा क्लिष्ट लेख्नुहुन्न, साहित्य त सरल, तरल र अजर हुनुपर्छ ।’
दैनिक ३–४ वटा पत्रिका पढ्ने बानी भएका ‘बैष्णव’ आँखाको नानीलाई जोगाउँदै किफायती तरिकाले खटाई–खटाई घाँटी तन्काएर टिभी पनि हेर्न भ्याउँदा रहेछन् । हिमालझैँ सेतो र आकासझैँ नीलो पहिरन मन पराउने वैष्णवको पेट र आँतलाई भातबाहेक केही फाप्दैन अरे † आफ्नो जीवनको अनुभवबाट स्वास्थ्य टिप्स दिए उनले, ‘निश्चल भाव, चिन्तारहित स्वच्छ आचार, विचार र सदाचारका साथमा खानपान मिलाउन सके सुनमा सुगन्ध हुन्छ । त्यसपछि त आयु नबढी धरै छैन ।’
२००४ सालमा ‘शारदा’ मा सूर्य शीर्षकको कविता लेखेर विधिवत् साहित्यमा प्रवेश गरेका वैष्णव पछि नाटकतिर ढल्किए । रेडियो उनको कार्यक्षेत्र बन्यो । रेडियो नेपालको सुरुवाती कालमा उनले प्रशस्तै रेडियो नाटक लेखे । रेडियोमा काम गर्दागर्दा बल्लबल्ल एउटा रेडियोसम्म जोरे अरे † लेखनाथका कविताबाट प्रेरित उनका सबैभन्दा प्रिय कवि पनि लेखनाथ नै हुन् ।
एकपटक तलब बुझेका दिन देवकोटालाई मेवा खान मन लागेछ । तत्काल ‘वैष्णव’ र देवकोटा मेवा पसलमा पुगिहाले । एउटा मेवा उचाल्दै देवकोटाले साहुनीलाई सोधे– ‘यो मेवाको कति हो ?’ महिलाले आत्तिएर झटपट देवकोटको हातबाट मेवा खोस्दै भनिन्– “यो मेवा बेच्ने हैन ?’ ती महिलालाई थाहा थिएन, मेवा किन्न आउने को थिए भनेर । उनले देवकोटालाई ‘पैसा नतिर्ने पागल’ भैँm देखेर त्यसो गरेकी रहिछन् । देवकोटाले पनि आफ्नो नजरमा ती साहुनीलाई सायद पागल नै देखे होलान् । वैष्णव देवकोटासम्बन्धी रोचक प्रसंगहरूको पुलै बाँध्दै छन्– ‘एक पटक उहाँ जाडोमा मकल नजिक बसेर लेखिरहनुभएको रहेछ । म भित्र पसेको मात्र के थिएँ, हल्लीखल्ली सुरु भयो । मकलमुनिको चकटी जलेर खरानी भएछ तर, कविता लेख्न मग्न रहेका देवकोटालाई होसै छैन । धन्य † बेलैमा थाहा भयो, नत्र ठूलै दुर्घटना हुन सक्थ्यो । सबैले मिलेर हत्तपत्त आगो निभाइयो ।’
हाम्रा ओल्ड नागरिक वैष्णवज्यूलाई कुनै जमानामा कोल्ड एलर्जीले खुबै सताएको रहेछ । ‘कोल्ड एलर्जी कस्तो फटाहा भने चिसो त लाग्नै नहुने, त्यसैले अहिले त घाम झुल्केपछि मात्रै उठ्छु’, उनले सुनाए । कुनैकुनै बेला तबला पनि बजाउन भ्याउने उनी राति नौ बजेसम्म सुतिसक्दा रहेछन् ।

प्रतिक्रिया