वन जोगियो तर जंगली जन्तुको पिरलो

झन्द्रेक (अर्घाखाँची), २० कात्तिक । तीन वर्षमै वन घना भएपछि अर्घाखाँचीको झन्द्रेक गाउँमा दिनदहाडै चितुवा देखा पर्न थालेका छन् । चितुवा मात्र होइन, स्याल, दुम्सीलगायत जंगली जन्तुका कारण स्थानीयवासीलाई पिरलो भएको छ ।

महाभारत पर्वतपारिको गाउँको वन सामुदायिक भएपछि जोगिएर घना हुँदा चितुवा गाउँ पस्न थालेका हुन् । वन मासिएर उजाड भएपछि तीन वर्षअघि स्थानीय बासिन्दाले सामुदायिक तेर्से वन घोषणा गरेर उपभोक्ता समूह गठन गरेका थिए । सामुदायिक भएपछि वन बाक्लिँदै गएका कारण दिउँसै घरगोठमा चितुवा आउन थालेको स्थानीय बासिन्दा बताउँछन् ।
‘डेढ महिनाअघि दिउँसै बारिछेउको घरमा चितुवाले बाख्रा खाइदियो,’ झन्द्रेककी हीरादेवी टण्डनले भनिन्, ‘त्यसको दुई/तीन दिनपछि भैँसीलाई घाँस काट्न घरबाट निस्कँदा गोठमा चितुवासँग मेरो जम्काभेट भयो ।’ गोठका गाई, बाख्रा खान कुरेर गोठछेउ बसिरहेको बाघ होहल्लापछि जंगलतिर भागेको उनले बताइन् । उनले त्यसयता दिनदहाडै चितुवा कराएको आवाजले आफूहरू त्रसित भइरहेको बताइन् ।
वननजिकै रहे पनि मासिँदै गएका कारण सात/आठ वर्षदेखि गाउँघरमा चितुवा देखा पर्न छाडिसकेको थियो । ‘तर सामुदायिक भएपछि वन घना हुँदा अचेल सधँैजसो गाउँमै चितुवा कराउने र एक/दुई सातामा बाख्रा खाइदिने गरेको छ,’ वन उपभोक्ता समूहका एक पदाधिकारीले भने, ‘वन त जोगियो तर गाई, बाख्रा जोगाउन हम्मे–हम्मे पर्ने अवस्था आइरहेको छ ।’
महाभारत पर्वतको वारिपारि दुवैतर्फ वन बाक्लिएपछि चितुवाले गाई, बाख्रा, स्याल र वनबिरालोले कुखुरा अनि दुम्सीले खेतीपाती मास्दा जनजीवन कष्टकर हुन थालेको स्थानीयको गुनासो छ । झन्डै ८० घर रहेको झन्द्रेक गाउँसँगै वन जोडिएको छ । बाहुन, क्षत्री र मगर समुदायको बसोवास रहेको झन्द्रेकका हरेक परिवार गाई, बाख्रा पाल्ने र खेतीपाती गर्छन् । चितुवा गाउँ पस्न थालेपछि किसानले बाख्रा नपाल्ने र छिटो बेच्ने गरिरहेको एक स्थानीय शिक्षकले बताए ।
‘दिउँसै चितुवा आएर बाख्रा खान थालेपछि अचेल बाख्रा बेच्ने र कम पाल्ने धेरै छन्,’ ती शिक्षकले भने, ‘त्रासका कारण दिउँसो एक्लै केटाकेटी कहीँ पठाउन पनि डर लाग्ने अवस्था छ ।’

प्रतिक्रिया