न्यायाधीश पुनर्नियुक्तिबारे सर्वोच्चमा बहस हुने

काठमाडांै, २० कात्तिक । सर्वोच्च अदालतका बहालवाला ६ अस्थायी न्यायाधीशको पुनर्नियुक्तिमा पुन: संसदीय सुनुवाइ गर्नुपर्ने या नपर्ने भन्ने विषयमा सर्वोच्चमै बहस हुने भएको छ ।

सर्वोच्चले संसदीय सुनुवाइबाट नियुक्ति पाएका अस्थायी न्यायाधीशको पुनर्नियुक्ति या म्याद थपमा पुन: सुनुवाइ आवश्यक भए/नभएको छलफल गर्न बार एसोसिएसन र सर्वोच्च बारबाट तीन/तीन कानुन व्यवसायीको ‘एमिकस क्युरी’ मागेको छ । ६ अस्थायी न्यायाधीशको कार्यकाल सकिन लागेका बेला सर्वोच्चले यस्तो कदम चालेको हो ।
अन्तरिम संविधानको धारा १५५ (१) बमोजिम सर्वाेच्चको न्यायाधीश नियुक्त गर्दा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । तर, संसदीय सुनुवाइ भइसकेका न्यायाधीशलाई अस्थायी या स्थायी नियुक्ति दिँदा पुन: सुनुवाइ गर्नु नपर्ने जिकिर गर्दै अधिवक्ता अच्युतप्रसाद खरेलद्वारा दायर रिटमा सर्वोच्चले वरिष्ठ अधिवक्तासहितको ‘एमिकस क्युरी’ माग्ने निर्णय गरेको हो । सर्वोच्चमा ६ जना अस्थायी न्यायाधीश कार्यरत छन् । उनीहरूको पद एकसाथ रिक्त भए सर्वोच्चमा प्रधानन्यायाधीशसहित ७ न्यायाधीश मात्र रहनेछन् ।
रिटमा सुनुवाइ गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले विषयवस्तुको गम्भीरता हेरी अन्तरिम संविधानको व्याख्यासमेत गर्नुपर्ने भएका कारण संवैधानिक कानुनका ज्ञातालाई बहसमा पठाइदिन बार एसोसिएसन र सर्वोच्च बारसँग माग गरेको छ । अदालतसँग प्रत्यक्ष सरोकारको विषय भएका कारण ६ मंसिरदेखि बहस हुने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया