कास्कीलाई टिम स्वर्ण

काठमाडौं, १९ कात्तिक । कास्की आर्चरी संघले प्रथम राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष टिम स्पर्धामा शनिबार स्वर्ण जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा असीम शेरचन, खगेन्द्र मल्ल र दुर्गा पुर्जा सम्मिलित टोलीले मनाङ–मस्र्याङदी आर्चरीको ओङग्या गुरुङ, कर्मा गुरुङ र जितबहादुर मोक्तानको टोलीलाई
२१६–२१३ ले पराजित गर्‍यो ।
हिमालयन आर्चरी क्लबले किराँत वेलफेयर सोसाइटी आर्चरी क्लबलाई
२१५–१८४ अंकले हराउँदै तेस्रो भयो । हिमालयनबाट प्रेमप्रसाद पुन, रमेश भट्टचन र वाङगेल गुरुङले खेलेका थिए । शीर्ष तीन स्थानमा रहने टिमले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रुपियाँ नगद पुरस्कार पाए ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ मिक्स टिम स्पर्धामा हिमालयनका प्रेमप्रसाद पुन र माया स्याङतेनको जोडी पहिलो भए । उपाधि भिडन्तमा उक्त जोडीले कास्कीका खगेन्द्र मल्ल र राज्यलक्ष्मी जोशीको जोडीलाई
३–१ को सेटमा हराए । कास्कीका दुर्गा पुर्जा र रेणु तामाङको जोडीले कास्कीकै असीम शेरचन र दिलकुमारी भुजेललाई ३–० ले पाखा लगाउँदै तेस्रो स्थानमा रहे ।
स्टयान्डर्डको मिक्स टिममा हिमालयनका वीरेन्द्र गुरुङ र सरिता तामाङको जोडीले शीर्षस्थान कब्जा गरे । फाइनलमा त्यस जोडीले कञ्चञ्पुरका होमबहादुर थापा र अन्नपूर्ण आर्चरी क्लबकी रश्मी दर्लामीको जोडीमाथि ३–० को जित दर्ता गरे । हिमालयनका सौजन्य गुरुङ र सोनी शेर्पाको जोडीले तेस्रो स्थानमा चित्त बुझाए । खुला र स्टयान्डर्डको मिक्समा शीर्षस्थानमा रहनेले क्रमश: समान ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद पुरस्कार जिते । सात स्वर्ण समावेश भएको प्रतियोगितामा यसअघि चार स्वर्णको छिनोफानो भइसकेको छ जसअन्तर्गत व्यक्तिगत खुला रिकर्भको पुरुषमा राष्ट्रिय च्याम्पियन मनाङका जितबहादुर मोक्तान र महिलामा कास्कीकी रेणु तामाङले स्वर्ण जितेका थिए । त्यस्तै व्यक्तिगत स्टयान्डर्ड रिकर्भको पुरुषमा हिमालयनका वीरेन्द्र गुरुङ तथा महिलामा हिमालयनकै सोनी शेर्पा पहिलो भएका थिए । व्यक्तिगतको चारै स्पर्धाका विजेताले ५ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले ३ हजार रुपियाँका दरले नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा हिमालयनकी सोनी शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यसबापत सोनीलाई कोरियाली प्रशिक्षक ली चुङ उङले १ हजार ५ सय अमेरिकी डलरबराबरको धनुष प्रदान गरे । तीनदिने प्रतियोगितामा ३६ पुरुष तथा १३ महिला गरी ४९ खेलाडी सहभागी थिए । सातै स्पर्धामा १८ मिटर दूरीमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया