“ट्रान्जिट” बन्दै नेपाल

काठमाडौं, १९ कात्तिक । – नेपाली बजारलाई लक्ष्य गर्दै मुम्बईदेखि ल्याइएको ९ सय ७५ ग्राम कोकिनसहित करिब एक महिनाअघि तीन भारतीय नागरिक पक्राउ परे ।

– २२ पुस ०६८ मा २६ वर्षीया थाई युवती सुपरेराट मेकिन्टस १ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परिन् । टुना फिस(माछाको सिकुटी प्याक गर्ने डब्बा) को डब्बामा लुकाएर ल्याइएको कोकिन उनले पेरुबाट कतार हुँदै काठमाडौंसम्म पुर्‍याएकी थिइन् । काठमाडौंबाट मलेसिया लैजाने क्रममा उनी प्रहरी फन्दामा परिन् ।
– २० चैत ०६८ मा झन्डै चार करोड रुपियाँ बराबरको २२ किलो चरेससहित ५४ वर्षीय जर्मन नागरिक बर्न क्लेन्स्चमिड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।
– हटकेसभित्र लुकाई ६ किलो चरेस दिल्ली जाने क्रममा रहेका ३६ वर्षीय चेक नागरिक ह्याकर भ्याकल्याभ २६ चैत ०६८ मा पक्राउ परे । त्यसैगरी, ३२ जेठमा भारत मोतीहारीका २४ वर्षीय मोहम्मद फैजुल्लाह एक सय ४५ ग्राम खैरो हेरोइनसहित पक्राउ परे । भारत मोतीहारीकै २६ वर्षीय मनोज महतो पनि एक सय ५० ग्राम खैरो हेरोइनसहित पक्राउ परे ।
प्रहरीले बरामद गरेको लागुऔषध र पक्राउ परेका विदेशी नागरिकको बाक्लो संख्याले स्पष्ट संकेत गर्छ– नेपाल अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बन्दै छ । लागुऔषध सम्बन्धमा प्रहरीले तयार पारेको २१ वर्षे तथ्यांकले पनि यसको पुष्टि गर्छ ।
प्रहरीको लागुऔषध कानुन कार्यान्वयन इकाइ बानेश्वरको तथ्यांकअनुसार सन् १९९२ मा लागुऔषध कारोबारमा संलग्न सातजना मात्रै विदेशी नागरिक पक्राउ परेका थिए । अहिले त्यो संख्या झन्डै ६ गुणाले बढेको छ । विगतको तुलनामा विदेशी नागरिकको नेपाल ओहोर–दोहोर बढ्दै जाँदा लागुऔषध कारोबारमा विदेशी नागरिकको संलग्नता पनि बढेको देखिन्छ ।
‘पहिलेको तुलनामा विदेशी नागरिक आउजाउको संख्या अहिले बढेको छ, त्यससँगै लागुऔषध कारोबारमा विदेशी नागरिक पनि बढी सक्रिय देखिएका छन्,’ इकाइका प्रमुख डिआइजी यादव अधिकारीले भने । विदेशी नागरिक आउजाउ हुँदा लागुऔषध कारोबार बढ्ने तथ्यलाई पर्यटन वर्ष २०११ ले पनि पुष्टि गर्छ । यो वर्ष लागुऔषध ओसारपसारमा ३१ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
विगतमा प्रहरीले गाँजा, चरेस, हेरोइन र मेडिकलजन्य लागुऔषध मात्रै पक्राउ पार्ने गथ्र्यो । तर, पछिल्लो समयमा कोकिन नै बरामद भएपछि अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूले नेपाललाई गतिलो ‘ट्रन्जिट पोइन्ट’ बनाएको प्रहरीको बुझाइ छ । ‘कोकिन पनि बरामद हुन थालेपछि लागुऔषध तस्करले नेपाललाई नयाँ रुटका रूपमा टेस्ट गर्न खोजेको देखिन्छ,’ डिआइजी अधिकारीले भने ।
डिआइजी अधिकारीका अनुसार लागुऔषध तस्करले नेपाललाई ‘ट्रान्जिट पोइन्ट’का रूपमा विकास गर्न खोजेका कारण पनि विदेशी नागरिक धेरै पक्राउ परेका हुन् । ‘तथ्यांक विश्लेषण गर्दा त्यस्तै देखिन्छ,’ उनले भने ।
नेपाललाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्नेमा भारतीय नागिरकको संलग्नता धेरै देखिन्छ । सन् २०१० मा लागुऔषधको कारोबारमा पक्राउ परेका ७७ विदेशी नागरिकमध्ये ४५ जना भारतीय थिए । पछिल्ला दुई वर्षमा पक्राउ पर्ने पनि अधिकांश भारतीय नागरिक नै छन् ।
डिआइजी अधिकारीका अनुसार नेपालको बाटो बनाएर विदेशसम्म लागुऔषध तस्कर गर्न खोज्ने भारतीय नागरिक तुलनात्मक रूपमा अझै कम पक्राउ परेका छन् । ‘धेरै घटनामा भारतीय तस्करले नेपालीलाई नै प्रयोग गर्छन्, थोरै घटनामा मात्रै उनीहरू आफँै नेपाल आएर लागुऔषध तस्कर गर्छन्, पक्राउ पर्ने भारतीय उनीहरू नै हुन्,’ उनले भने ।
डिआइजी अधिकारीका अनुसार अफगानिस्तानमा उत्पादित लागुऔषध तस्कर गर्न विदेशी तस्कर सक्रिय छन् । उनीहरूले अफगानिस्तानमा उत्पादित अफिम पाकिस्तानबाट भारतीय बाटो हुँदै नेपाल भित्र्याउँछन् । र, नेपालबाट युरोपियन मुलुक, क्यानाडा, अमेरिकालगायत मुलुकमा तस्करी गरिन्छ । यो कारोबारका नाइके सबै विदेशी हुने गर्छन् । भारियाका रूपमा मात्रै केही नेपालीको प्रयोग गरिने गर्छ ।
लागुऔषध कानुन कार्यान्वयन इकाइको तथ्यांकअनुसार सन् २०१० मा लागुऔषध कारोबारमा सबैभन्दा धेरै ४८ विदेशी नागरिक पक्राउ परेका थिए । पक्राउ पर्नेमा ४५ जना भारतीय, चारजना तिब्बतीयन, तीनजना फिलिपिनो र पोलिक, बेल्जियम, जापनिज र अमेरिकाका दुई/दुईजना थिए । त्यस्तै, पाकिस्तानी, जर्मनी, नेदरल्यान्ड, इजरायली, सेरा लेवन, हङकङ, युक्रेनी, डेनिस, आइभोर, स्विट्जरल्यान्ड, इटालियन, दुबई, फ्रान्स, पोर्चुगल, माली, तान्जेनिया र इरानी एक/एकजना पक्राउ परेका थिए ।
त्यस्तै, २०११ मा ३१, २००९ मा २८, २०१२ मा २१, २००४ र २००८ मा २०, २००६ मा १८, २००७ मा १५, २००३ मा १३, २००५ मा १०, २००२ मा १९९२ मा ७, १९९३ मा ७, १९९४ मा १४, १९९५ मा ७, १९९६मा ४, १९९७ मा ९, १९९८ मा १०, १९९९ मा १०, २००० मा ४ र २००१ मा ६ जना विदेशी नागरिक लागुऔषध कारोबारमा पक्राउ परेका थिए ।

प्रतिक्रिया