काठमाडौं : एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । नेता ओलीलाई थप उपचारका लागि शनिबार दिल्ली लैजाने तयारी भए पनि स्वास्थ्यमा सुधार आएपछि थप एक दिन नर्भिक अस्पतालमै राखिएको छ । स्वास्थमा सुधार नआए थप उपचारकालागि आइतबार दिल्ली लगिने पारिवारिक श्रोतले जनाएको छ ।
चिकित्सकका अनुसार छातीमा इन्फेक्सनपछि थापाथलीस्थित नर्भिक अस्पतालमा शुक्रबारदेखि उपचार गराइरहेका ओलीको स्वास्थ्यमा शनिबार केही सुधार आएको छ । छातीमा इन्फेक्सन भई ज्वरो र खोकी बढेपछि उनलाई शुक्रबार पौने ५ बजे नर्भिकमा भर्ना गरिएको थियो । रगतमा अक्सिजनको मात्रा कम देखिएपछि शुक्रबार बाहिरी भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । शनिबार बिहान भने अक्सिजनको मात्रा बढेको उपचारमा संलग्न चिकित्सक भारत रावतले बताए ।
ओलीको उपचारमा संलग्न चिकित्सकले दिल्लीको मेदान्त वा एपोलो अस्पताल लैजान सल्लाह दिएका थिए । तर, ज्वरो र फोक्सोको इन्फेक्सनमा सुधारपछि थप एक दिन नर्भिकमै राखेर उपचार गर्ने भन्दै शनिबार दिल्ली लगिएन । ‘स्वास्थ्यमा पनि सुधार आएको छ र दिल्ली लैजाने प्रोसेसमा पनि ढिलाइ भयो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले सौर्यसँग भने, ‘थप उपचारका लागि दिल्लीमै लैजाने वा यहीँ उपचार गर्ने भोलि (आइतबार) बिहान निर्णय हुन्छ ।’
छातीको इन्फेक्सन र निमोनियामा सुधार आए पनि त्यसले मिर्गाैलामा इन्फेक्सन हुन सक्ने भएकाले उनलाई थप उपचारका लागि दिल्ली लगिन सक्ने ओलीका सहयोगी श्रीराम बजगाईंले बताए ।
ओलीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस उपसभापति रामचन्द्र पौडेल अस्पताल पुगेका थिए । नर्भिकमा ओलीलाई नर्भिक अस्पतालका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. भारत रावत, फोक्सो विशेषज्ञ बजेन्द्र श्रीवास्तव र कलेजो रोग विशेषज्ञ दिलीप शर्माको टोलीले उपचार गरिरहेको छ । (सौस)
प्रतिक्रिया