थप तीनजनामा डेँगु

झापा, १९ कात्तिक । झापामा थप तीनजनामा डेँगुको भाइरस भेटिएको छ । मेचीनगरस्थित धुलाबारी प्राथमिक स्वास्थ्य सेवा केन्द्रका प्रयोगशाला प्रमुख टीकाराम ढकाल, उनकी श्रीमती र छोरामा डेँगु फेलापरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ढकाल, उनकी श्रीमती पार्वती ढकाल र छोरा निश्चल ढकालमा डेँगु संक्रमण भएको पुष्टि गरेको छ । योसमेत गरी झापामा यो रोगबाट संक्रमितको संख्या चार पुगेको छ । यसअघि जिल्लामै पहिलोपटक काँकडभिट्टाका विशाल गौतममा यो रोगको भाइरस फेलापरेको थियो ।
ढकाल परिवारमा डेँगु लागेको तथ्य धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा बिहीबार पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार उनीहरू तीनैजना केही समयअघि उपचारका लागि दक्षिण भारतको बैंगलोर गएका थिए । केही वर्षअघि दुर्घटनामा परेका छोरा निश्चलको नियमित स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेर फर्किने क्रममा उनीहरू तीनैजना बिरामी परेका हुन् । धुलाबारीस्थित ढकाल प्याथोलोजीका सञ्चालकसमेत रहेका ढकालले आफ्नै ल्याबमा पहिलोपटक रगतपरीक्षण गरेका थिए ।

प्रतिक्रिया