५ मोटरसाइकल र २ कारलाई एकैपटक ठक्कर

पोखरा, १९ कात्तिक । पोखराको न्युरोडमा शुक्रबार साँझ कारको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ । चारजना घाइते भएका छन् । अनियन्त्रित गतिमा रहेको कारले रोकिराखेका ५ ओटा मोटरसाइकल र २ ओटा कारलाई एकैपटक ठक्कर दिएको थियो ।

पोखराको सभागृहचोकबाट चिप्लेढुंगातर्फ जाने क्रममा अनियन्त्रित गतिमा रहेको कारले ठक्कर दिँदा स्याङजाकी ४५ वर्षीया हीरा गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गुरुङको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ । अनियन्त्रित गतिमा रहेको कारले विपरीत दिशाबाट आइरहेको र रोकिराखेका पाँचवटा मोटरसाइकल तथा २ ओटा कारलाई एकैपटक ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ४ जनाको पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा पोखरा–१७ विरौटाका २५ वर्षीय युवराज मिश्र, २० वर्षीया शर्मिला पोखरेल, मुस्ताङचोककी २५ वर्षीया सरिता गुरुङ, रामबजारका ४७ वर्षीय केशव थापा रहेका छन् ।
पोखराको सभागृहचोकबाट चिप्लेढुंगातर्फ अनियन्त्रितरूपमा आएको ग १ च ७९६० नम्बरको निीज कारले न्युरोडस्थित पोखरा उपमहानगरपालिकाअगाडि विपरीत दिशाबाट आउँदै गरेका ४ वटा मोटरसाइकल र २ वटा कारलाई ठक्कर दिई भागेको थियो । ठक्कर दिने कार र चालकलाई प्रहरीले घटनालगत्तै पोखराको चिप्लेढुंगाबाट पक्राउ गरेको छ । चालक लेखनाथ नगरपालिका वडा नं. ४ बस्ने कल्याण अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी कार चलाएका कारण दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
उनले चलाएको कारले न्युरोडमा
वा २३ प ६६४०, ग ५ प ९००९, ग ५ प ५४१, ग ४ प २७४२, ग ५ प ६९२६ नम्बरका मोटरसाइकल तथा ग १ च ७२६७ र ग १ च ८०१६ नम्बरको कारलाई एकैचोटि ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुरुमा पैदलयात्रीलाई ठक्कर दिएपछि कारले न्युरोडमा नगरपालिकाअगाडि मोटरसाइकल र कारलाई ठक्कर दिएको हो । दुर्घटनाका कारण न्युरोड क्षेत्रमा झन्डै आधा घन्टा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया