भग्न गुरुकुल र पुँजीवादको गर्भगृह

यात्रामा छु । चिसो स्याँठ फालिरहेको झ्यालपट्टि फर्किएकी कालो गगल्सवाली रंगमञ्चकी रानी निशा शर्माको अनुहारमा निराशाको रंग पोतिएको छ । साइडमा बसेका छन् आरोहण गुरुकुलका निर्देशक सुनील पोखरेल, उनको अनुहारमा पोतिएको अवसादको रंगले पनि आउँदै गरेको कुनै महासंकटको संकेत गर्छ । नाटकमा आफ्नो भाग्य खोजिबसेका पोखरेल कुनै योगीभैँm लाग्छन् । पुरानो बानेश्वर हाइटको आरोहण गुरुकुलमा हरपल पुगिरहने दर्शकलाई नेपाली नाटकबारे गफ सुनाइरहेजस्तो मुडमा उनी पक्कै छैनन् । दस वर्षदेखि नेपाली नाटक, कला, साहित्यको एउटा बलियो खम्बा बनेर ठडिएको आरोहण गुरुकुलले साधनाको त्यो डाँडो अब छोड्नुपर्ने भएको थियो ।
पुस मसान्तसम्म मात्रै त्यस डाँडोमा बस्ने आदेश पाएको गुरुकुल डेरा खोज्दै थियो । गुरुकुलको बास उठेपछि अहिले त त्यहाँ भव्य सपिङ मल बन्दै छ । आफ्नै जग्गा नहुँदा यसरी तड्पिरहेको नाट्य–शिल्पीको समूहलाई यहाँ राज्यले कुनै नजर फ्याँक्दैन । पिरैपिरमा गुरुकुलको झिटिझाम्टा बोकेर कुनै टुंगो नभएको यात्रामा निस्कनुपर्ने बाध्यताले प्रत्येक पल पछ्याइरहेथ्यो सुनील–निशालाई । त्यसैले जहिल्यै पनि टेन्स मुडमा हुन्छन् सुनील । ‘दीपक, म जब गुरुकुल पुग्छु, मेरा आँखा रसाउन थाल्छन् । त्यसैले त्यहाँ म बस्नै सक्दिनँ, यहाँ उभिएको बेला म निकै कमजोर बन्छु,’ भत्किँदै गरेको रिमाल थिएटर हल अघि उभिएर सुनीलले सुनाएका थिए, जुन वाक्य मेरो दिमागमा सधैँ पत्रेचट्टान जसरी सुरक्षित छ, आज मध्यरातमा सम्झिरहेछु ।
मध्यरात घडीले १२ हान्यो होला । नाइट डिलक्स बस चर्को हर्न बजाउँदै आफ्नै रफ्तारमा काठमाडौंबाट काँकडभिट्टा लैजाँदै छ (हामी पुग्नुछ भारत, पश्चिम बंगालको बहरामपुर) । सिसाबाट बाहिर हेर्छु, रात चकमन्न छ । कुहिरो पोतिएको रातमा काला र अग्ला ठुल्ठूला रुखहरूले ढाकेका बाक्लो जंगलबीच बनाइएका फराकिलो बाटो अघि मात्र तेर्सिएको छ सुनसान सडक । दुवै खुट्टा उचालेर हातले भर दिँदै घुँडाको बीच टाउको अड्याएकी, जिउ पूरै चिसो सिसातिर ढेपेकी, अनुहारमा अवसाद पोखिएकी निशा शर्माको मुस्कान पर्खनु सायद त्यो रात मेरो मुर्खता थियो ।
बसभित्रको मधुरो प्रकाशमा निशाको धुमिल अनुहार देख्दै छु । उनी निद्रा चोर्ने कुन सपनाबाट एक्कासि टुटेर छट्पटाइरहेकी होलिन् ? खराब बाटोमा कुनै बेला बिस्तारै र कुनै बेला स्पिडमा हुँइकिदो बसमा पेट्रोल डकारिरहेको इन्जिनको चर्को आवाजले कसलाई निदाउन दिँदो हो ?
०००
साइकल, अटो र रिक्साको कान चिर्ने चर्को साइरन । गिट्टीले पिच गरिएको बाक्लो कालोपत्रे बाटोमा जताततै ‘पिच्च–पिच्च’ थुकिएका पानको रातो झोल । पान चपाएर मुख रातो पार्दै बुङबुङ सिग्रेटको धुँवा उडाउँदै हिँड्नेहरूको तँछाड–मछाड । सडक किनारमा चिया, कफी, झालमुरी, पानीपुरी र चना चटपटे बेच्ने साहुजीको ठेलाअघि उभिएर स्वाद लिनेहरू पनि अघिपछि हिँडिरहेका युवतीतिर नजर फ्याँक्दैनन् । लाग्छ, कुनै पनि युवती नेपालकाभैँm आकर्षक र ‘सेक्सी’ छैनन् । बहरामपुर, एउटा अनौठो सहर †
हाम्रो (नेपालबाट बहरामपुरको रवीन्द्र सदनमा चलिरहेको ऋत्विक अन्तर्राष्ट्रिय नाट्यमेलामा भाग लिन भारत पश्चिम बंगालको बहरामपुर पुगेका आरोहण गुरुकुलको टोलीे) लागि बुक गरिएको सहरको अत्याधुनिक होटलको माथिल्लो तलामा छिन् एउटी युवती । ‘आइ लभ यू’ लेखिएको निलो टिसर्ट र कालो रंगको ट्राउजर लगाएकी उनी हेर्दैमा कुनै फिल्मकी नायिकाभैँm लाग्थिन् । अबको आठ दिनसम्म यही होटलमा बस्नुपर्छ । कतै यो शुभ–साइत पो हो कि † भावनामा डुबेर उनीसँग इन्ट्रोडक्सन गर्ने मुडले १ तलामाथि उक्लिएँ । अलि कुनामा बसेको रहेछ एउटा तन्नेरी जसको पिक्लिक्क उठेको पेटको टिसर्टमाथि दुई तन्नेरी ‘किस’ गरिरहेको भद्दा तस्बिर छ । हातमा बियर लिएर त्यही युवतीसँग मस्किँदै रहेछ । मलाई राता र ठूला आँखाले एकटक उसले घुरेर हेर्‍यो । म एकछिन पनि त्यहाँ नबसी टाप कसेँ । लिफ्टमा तल झर्दै गर्दा पनि त्यही युवतीको छातीको उभारले तानिरहेको थियो ।
होटलबाहिर भव्य ताल छ, जुन साँझ परेपछि मात्रै खुल्छ । तालको बिचमा पानीमाथि तैरिरहेको चर्को बत्तीको उज्यालाले यसलाई साँच्चै आकर्षक बनाएको छ । सिग्रेटको धुँवासँगै ल्यापटप चलाएर बस्ने केही जोडी केटाकेटीको साइडमा दुई ग्लास कफी पनि छ । केही केटाकेटीको हातमा क्यानबियर पनि देखिन्छ । हुत्तिएर आएको चिसो हावाले एक जोडीको गालामा चुम्बन दिएर जान्छ । सिरिरी चलेको हावाले फेरि बग्दै आएर युवतीको कपाल उडाउँदै युवकको अनुहार लपक्कै छोपिदिन्छ । मौसम सुध्रिएका बेला बहरामपुर भित्रका र बाहिरका पनि प्रेम जोडीहरू यहाँ आएर आपसमा हराउने सपना देख्छन् । आकाश धुम्मिएको या साँझ छिप्पिएका बेला चाहिँ वियोगले छट्पटिएका युवकहरू हातमा बियरका बोतल लिएर आफू देवदास भएको महसुस गर्न यहाँ आइपुग्छन् । त्यसैले यो ठूलो तालमा पुरातात्विक महत्त्वका कुरा होइनन् मायाका कृतिम चिन्ह देखिन्छन् । क्यानबियर वा बोतलका सिसीचाहिँ सजिलै देखिन्छ ।
एक जोडी ताल छेउको अलि अन्धकार कुनामा बसेका छन् । दुईमध्ये कसैले पनि मैलेजस्तो हातमा डायरी लिएर लेखेको नदेख्दा म टुंगोमा पुगेको थिएँ, उनीहरूले मायाकै कुरा गरिरहेको हुनुपर्छ । नजिकैको अर्को हरियो बेन्चमा पनि अर्को जोडी थियो । पछाडिबाट हिँड्दै गर्दा मैले केटा–केटीे चुम्बनमा लिप्त रहेका देखेँ । लाग्यो, यहाँका प्रत्येक बेन्चहरूमा जोडीहरूले शीतलता पाइरहेका छन् ।
०००
पश्चिम बंगालको बहरामपुरमा उत्तर प्रदेशमा जस्तो चुनावी माहोल छैन । केही दिनअघि ‘दैनिक जागरण’मा गुरुचरण दासले लेखेका थिए–‘उत्तर प्रदेशमें आगामी चुनावी माहौलको देखकर ऐसा लगताहे जैसी किसी अस्पताल में आपतकालीन अपरेसन चल रा हो ।’ मुर्सिदावादभित्र पर्ने बहरामपुर सहरको शान र सौकत देख्दा लागेको थियो, यो सहर धनीहरूको सहर हो । हरेक चोक–गल्लीमा यो सहर नियालीरहेका छन् रवीन्द्रनाथ ठाकुर, महात्मा गान्धी, सुवासचन्द्र बोस, मुर्सिद कुली खाँहरूका सालिकले । नयाँ नेपालको रन्कोमा हामीकहाँ थुप्रै सालिक ढले, बहरामपुरका यी सालिक देख्दा बडो ‘अनौठोबोध’ हुन्छ । सालिकहरू फेर्नु र ढाल्नुलाई नयाँको आवरण चिनारी दिने हाम्रो अल्पज्ञानप्रति टीठलाग्दो व्यंग्य उठ्यो मनमा ।
मेरो दिमागमा अचम्मका ख्याल आइरहेका छन् । वर्तमान विश्व आर्थिक व्यवस्था, जसलाई पुँजिवाद भनिन्छ, त्यो जिनिस बडो संकटमा छ । तर, बहरामपुरका जनता पुँजीवादकै ध्याउन्नमा छन् । उनीहरू पनि केही चिन्तित छन्, लखनउमा कसले शासन गर्ला ? अमेरिका, युरोप दुवैको हालत खराब हुँदै छ । भारतको अर्थव्यवस्था पनि निकै ढिलो हिँडिरहेको छ । भारतीयहरू बजारप्रति साह्रै शंकालु छन् । भारतमा ‘बजारबाट समृद्धि आउँछ’ भनेर मान्नेहरूको संख्या अधिक छ । भारतमै कति यस्ता छन्, जो भन्छन्– पुँजीवाद नैतिक व्यवस्था होइन । नोबेल पुरस्कार बिजेता फ्रेडरिक हायकले ‘बजार स्वतस्र्फुत व्यवस्था हो’ भनेका छन् । बजारमा नैतिकता स्वतन्त्रताको विचारबाट सुरु हुन्छ । मान्छे पुँजीवादलाई लिएर बडो शंकालु छन् कारण उनीहरू बजारको हितलाई आफ्नो निहित स्वार्थ सम्झन्छन् । एउटा स्वार्थी मान्छे अर्को मान्छेको अधिकारको अतिक्रमण गर्छ किनभने आत्माको हित एउटा सामान्य व्यवहार हो । वर्षात्को दिन कोही छाता बोकेर घरबाट निस्कन्छ भने यसमा उसको कुनै स्वार्थ हुँदैन । सस्तोभन्दा सस्तो दाममा किनेर साह्रै महँगो दाममा बेच्नु आत्महितको काम हो । मलाई मनपरोस् वा नपरोस् पश्चिम बंगाल (खासमा बहरामपुर) यही प्रकारको लोकतान्त्रिक पुँजीवादको दिशामा अघि बढिरहेको छ । द्वेष समाजवादको पाप हो भने लालच पुँजीवादको । जसरी पुँजीवादी राष्ट्र विकसित हुँदै जान्छन्, सम्पदा नष्ट हुँदै जान्छ । हित र स्वार्थको बीच धर्मले सानो रेखा खिच्छ । बहरामपुरमा यही भइरहेको छ ।
०००
दिनभरि हामी बहरामपुरका ऐतिहासिक ठाउँहरू घुमेका थियौँ, हजारद्वारे दरबार, जफरागन्ज मिर्जाफिर समाधि, कतरा मस्जिद…। आफ्नी छोरीको सम्झनामा मुर्सिद कुली खाँले स्थापना गरेको कतरा मस्जिदको किंवदन्ती रोचक छ । मुर्सिदकी छोरीलाई मुटुको रोग थियो । उनी नबाँच्ने अवस्थामा थिइन् । एकजना वैद्यले नबाब मुर्सिद कुली खाँलाई भने ‘एक हजार जना मान्छेको मुटु छोरीलाई खान दियौ भने तिम्री छोरी बाँच्छिन् ।’ त्यसपछि मुर्सिदावादमा एक हजार मान्छे मारिए । उनकी छोरी पनि बाँचिन् ।
कतरा मस्जिद मुर्सिदावाद सहरको उत्तर पूर्वमा पर्छ । सन् १७०६ मा मुर्सिद कुली खाँ नबाब बने । १७२५ सम्म मात्र उनले शासन गर्न पाए । बुढ्यौली लागेपछि नबाब मुर्सिद कुली खाँलाई आफ्नो समाधीछेउ मस्जिद बनाउन रहर लाग्यो । मस्जिद बनाउने जिम्मा फरास खाँलाई दिए उनले । फरास खाँ हिन्दू धर्मावलम्बीको अत्यन्त डाह गर्थे । त्यसैले फरासले त्यस क्षेत्रका हिन्दू मन्दिरहरू भत्काए । कुनै पनि मन्दिर फरासको नजरबाट बचेन । मन्दिरहरूको सामग्री प्रयोग गरेर १७२३–२४ मा मस्जिद बन्यो ।
तर, जीवनको अन्त्यमा मुर्सिद कुली खाँलाई एक हजार मान्छेको हत्या अपराध आफ्नो थाप्लोमा भएको कुराले निकै पिरोल्यो । अर्को कुरा सबै मन्दिर भत्काएर मस्जिद बनाएको कुराले उनी पश्चात्तापमा जल्न थाले । पाप प्रायश्चितको लागि उनले मस्जिदको भर्‍याङमुनि आफ्नो समाधिस्थल बनाउने इच्छा गरे । उनको भित्री इच्छा थियो, जमिनमुनि समाधिस्थ आफ्ना शरीरमाथि हजारौँ भलाद्मी मान्छेले कुल्चेर हिँडुन् । इच्छाअनुसार, मृत्युपछि उनको शवलाई भर्‍याङ् मुनी नै राखियो । मस्जिदको दुई छेउमा अहिले पनि ७० फिट अग्ला दुई डोमहरू छन् तर भत्किने अवस्थामा । यी दुई मिनाटरको माथिबाट मुर्सिदाबाद सहर पूरै देखिन्छ । यो मस्जिदमा एकैपटक २ हजार मान्छे प्रार्थना गर्न सक्छन् ।
०००
यस वर्ष ऋत्विकका निर्देशक गौतम राय चौधरीको निधनले ऋत्विकलाई टुहुरो बनाएको रहेछ । नाटकलाई बहरामपुरमा स्थापित गराउने ठूला साधक गौतम दाको शेषपछि ऋत्विकको भविष्य के होला ? भन्नेमा सबै चिन्तिन थिए । र, ऋत्विकलाई थुप्रै चुनौती थपिए । ‘तर, हामीले आफूलाई सम्हाल्यौँ र हामी स्ट्रङ छौँ भन्ने देखायौँ पहिलेको वर्षभन्दा पनि बढी नाटक अहिले देखाएर,’ ऋत्विकका हालका निर्देशक मोहितबन्धु अधिकारी भन्दै थिए ।
ऋत्विकले आयोजना गर्ने देश–देशावर नाट्यमेलामा भाग लिन उता पुगेका आरोहण गुरुकुलका नाट्य–शिल्पीहरू दिउँसो झोक्राइरहेका भए पनि साँझ निकै फुरुंग हुन्थे । ‘मलाई साँझले सधैँ लोभ्याउँछ किनभने यसले दिनभरिका अनुभव एकैसाथ बटुलेर ल्याउँछ र आत्मचिन्तन उत्पन्न गराइदिन्छ,’ गुरुकुलका निर्देशक सुनील पोखरेलले एक साँझ कफी खाँदै भनेका थिए । उनी साँझ परेपछि कि आइफोनमा भएको गुलजार, जावेद अख्तरका गीत सुन्थे कि किताब पढ्न थाल्थे जुन क्रम मध्यरातसम्मै लम्बिन्थ्यो । उनी किताबका यति किरा छन्, नयाँ दिल्ली घुम्न निस्केका बेला खल्ती टम्म छ भने एकैपटक ७५ हजार आइसीका किताब किनेर नेपाल फर्कन्छन् । आरोहण गुरुकुल सर्ने भएपछि सबै सामान कुनै एउटा गोदाममा थन्क्याउनुपर्ने भएको छ । उनलाई एउटै चिन्ताले सताएको छ, ती हजारौँ किताबको जतन कसरी गर्ने ?
बहरामपुरको साँझ यसकारण पनि सुन्दर हुन्छ कि साँझ परेपिच्छे विभिन्न देशबाट आएका रंगकर्मी मञ्चको धिमा बत्तीमा उपस्थित हुन्छन् र अनेक भावमुद्रामा अभिनय गर्छन् । उता हाम्रा रोमान्टिक मन मस्तिष्कलाई कुरा गर्न कुनै विषयको खाँचो थिएन । तर, हामीलाई रोमान्सले भन्दा वर्तमान समय र राजनीतिले अल्मल्याइदियो । वर्तमान समयका नेपालका नेता, अल्पायुमै मृत्यु हुने तिनका अदूरदर्शी निर्णय र अझ तिनैका नौटंकी अभिव्यक्तिले हामीलाई उता पनि पछ्याइरहेकै छ ।
मस्तिष्कको क्यानभासमा एकैसाथ उत्रिन खोज्छन् मुर्सिदावादका अनेकौँ दृश्य अनि निर्माण हुन्छ एउटा अस्पष्ट, काल्पनिक र सुन्दर कोलाज । सायद पुँजीवादको यसै गर्भगृहमा हुर्कंदै गएका असन्तुष्टिको भ्रूणले समाजलाई नियन्त्रण गरिरहेको बजारलाई कालातीत बनाइदिन्छ ।

प्रतिक्रिया