पर्यटक आगमन घट्यो

काठमाडौं, १७ कात्तिक । लामो समयदेखि बढ्दो क्रममा रहेको पर्यटक आगमन सन् २०१२ को अक्टोबरमा भने घटेको छ । पर्यटकीय सिजनका बाबजुद पर्यटक आगमन घटेको हो ।
नेपालमा अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनालाई पर्यटकीय सिजनको रूपमा लिइन्छ । गत वर्ष राष्ट्रिय महत्त्वका साथ मनाइएको नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसारका कारण पनि यस वर्ष पर्यटक आगमन उल्लेख्य बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका थिए ।
नेपालमा सन् २००९ को जुनदेखि पर्यटक आगमन वृद्धिदर सकारात्मक रहँदै आएको थियो तर, २०१२ को अक्टोबरमा पर्यटक आगमन नकारात्मक देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार अक्टोबर महिनामा हवाई मार्गबाट आउने पर्यटक ७.३ प्रतिशतले घटेका छन् । अक्टोबरमा ६७ हजार नौ सय एक पर्यटक नेपाल आएको तथ्यांक बोर्डको छ । गत वर्षको अक्टोबरमा ७३ हजार दुई सय ६४ पर्यटक आएका थिए ।
गत वर्षको अक्टोबरको तुलनामा सार्क मुलुकबाट आउने पर्यटक २८.५ प्रतिशतले घटेका छन् । गत वर्ष अक्टोबरमा सार्क मुलुकबाट ११ हजार ६ सय २२ पर्यटक आएकोमा यो वर्ष आठ हजार तीन सय १२ मात्र आएका छन् । भारतबाट आउने पर्यटक ३०.१ प्रतिशतले घटेका छन् भने बंगलादेशी र पाकिस्तानी पर्यटक पनि घटेका छन् । सार्क मुलुकमध्ये श्रीलंकाली पर्यटक मात्र ४८ प्रतिशतले बढेको तथ्यांक छ ।
युरोपियन बजारतर्फ १७.५ प्रतिशतले पर्यटक घटेका छन् । बेलायती, फ्रेन्च, जर्मन तथा रुसी पर्यटक घटेका छन् भने अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा र अमेरिकबाट आउने पर्यटक केही बढेका छन् ।
सन् २०१२ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने पर्यटकको संख्या गत वर्षको तुलनामा ११.५ प्रतिशतले बढेको छ ।  यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९४ हजार १९ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको तथ्यांक छ । गत वर्ष यो संख्या चार लाख ४३ हजार थियो ।

प्रतिक्रिया