काठमाडौं, १७ कात्तिक । संविधानसभा पुन:स्थापनाको मुद्दा छाडेर नयाँ निर्वाचनमा जाने पार्टी निर्णयबाट कांग्रेसका पूर्वसभासद्हरू रुष्ट भएका छन् । निर्णयप्रति संगठित विरोध जनाउँदै उनीहरूले पुन:स्थापनामै फर्किन पार्टी नेतृत्वसित माग गरेका छन् ।
संविधानसभा विघटनदेखि नै पुन:स्थापनाको पक्षमा रहेका कांग्रेसका ७८ जना पूर्वसभासद्ले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी पार्टी निर्णयको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकले बुधबार मात्रै नयाँ निर्वाचनमा जाने घोषणा गरेको थियो । वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेललगायतले पुन:स्थापनालाई विकल्पमा राख्नुपर्ने अडान लिए पनि सभापतिले बहुमतका आधारमा निर्वाचनमा जाने निर्णय गराएका थिए ।
लोकतान्त्रिक पार्टी कांग्रेसले राजनीतिक संकट समाधान गरी लोकतन्त्रको संवद्र्धन र संघीयतालाई संस्थागत गर्न पनि संवैधानिक मूल्य र मान्यतालाई उपेक्षा गर्न नहुने विज्ञप्तिमा उल्लेख छ । ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण सवालका सन्दर्भमा निर्वाचित जनप्रतिनिधिमार्फत मुलुक चल्नुपर्छ भन्ने मान्यता बोकेको ऐतिहासिक पार्टीले कार्यकारिणीमार्फत संविधान संशोधन गर्न सकिन्छ भन्ने निर्णय गर्दा हामी आश्चर्यचकित भएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामी निर्वाचनविरोधी होइनौँ । सहमतिका आधारमा संविधान जारी गरी संविधानमा भएको व्यवस्थाअनुरूपको निर्वाचनका पक्षमा हामी छाँै । यसैबाट मात्र देशले निकास पाउनुपर्छ ।’
पुन:स्थापनामा लबिङ गर्दै आएका उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै राजनीतिक दलका बीच शीघ्र वार्ता र छलफल अघि बढाई विवादित विषयमा शीघ्र सहमति कायम गरी छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरी संविधान जारी गर्न सबै पक्षसँग हामी हार्दिक आग्रह गर्दछौँ ।’
पुन:स्थापनाको पक्षमा सक्रिय हुँदै आएका पूर्वसभासद् शोभाकर पराजुलीले भने, ‘लोकतान्त्रिक पार्टी कांग्रेसको निर्णय त्रुटिपूर्ण छ । संविधान संशोधन संसद्बेगर हुन सक्दैन । संसद्बाटै समस्याको समाधान गर्न पनि पुन:स्थापनाबाट जानुपर्छ भन्ने हाम्रो माग हो ।’ आफूहरूले निर्वाचनमा विरोध नगरेको उल्लेख गर्दै उनले संविधान जारी गरी निर्वाचनमा जानुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतान्त्रिक तरिकाले नै संस्थागत निर्णय लिएकाले सबैले निर्वाचनमा जाने निर्णलाई सम्मान गर्नुपर्ने बताए । ‘हामीले निर्वाचनमा जाने घोषणा लोकता न्त्रिक निर्णयका आधारमा गरेका छौँ । यसलाई पार्टीका हरेक तह र तप्काले मान्नुपर्छ । कसैको व्यक्तिगत लहडमा भएको विभिन्न प्रयत्नले अर्थ राख्दैन ।’
बिहीबार काठमाडौंमा उपलब्ध ६० पूर्वसभासद्को भेलाले बुधबारको केन्द्रीय समितिको निर्णयलाई त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको दाबीसमेत पराजुलीले गरे । अन्य सभासद् काठमाडौंबाहिर भएको र उनीहरूको पनि समर्थन लिएको उनको भनाइ थियो । पुन:स्थापना गर्नुपर्ने पक्षमा रहेका देउवा, पौडेल, प्रकाशशरण महत, विमलेन्द्र निधि, नवीन्द्रराज जोशीसहित शीर्ष नेताको समेत समर्थन रहेको बताइएको छ । पुन:स्थापको पक्षमा ७८ जना सभासद् भएको बताइए पनि विज्ञप्तिमा उनीहरूको नाम समावेश गरिएको छैन ।
प्रतिक्रिया