गणतान्त्रिक फोरमको विवाद फेरि चुलिदैं

वीरगञ्ज, १६ कात्तिक । मधेसी जनअधिकार फोरम गाणतान्त्रिकका महासचिव आत्माराम प्रसाद साहले राजकिशोर यादवले नेतृत्वको पार्टीले वीरगञ्जमा गर्न लागेको महाधिवेशन अवैधानिक रहेको दाबी गरेका छन्,’ उनले भने, ‘कात्तिक–२१ गते हुने लागेको महाधिवेशनमा कोही पनि सहभागी हुनुहुँदैन ।’
वीरगञ्जमा आज सौर्यसँग कुरा गर्दै उनले पार्टीबाट निष्काशित सूचना तथा सञ्चार मन्त्री यादवले घोषणा गरेको वीरगञ्ज महाधिवेशनको कुनै अर्थ नरहेको बताए ।
मन्त्री यादवले आफू नेतृत्वको गणतान्त्रिक फोरमको महाधिवेशन कात्तिक–२१ गतेदेखि वीरगञ्जमा शुरु गर्ने घोषणा गरिसकेका छन् । त्यसका लागि उनले जोडतोडले तयारी समेत गरिहेका छन् ।
महासचिव साहले मन्त्री यादवले सत्ता र पैसाको आडमा पार्टी कब्जा गरेको आरोप लगाए । ‘साउन–३ गते बसेको पार्टीको बहुमत केन्द्रीय समितिको निर्णयले यादवलाई कार्यवाहक अध्यक्ष पदबाट निलम्बन गरी सकेको छ,’ उनले भने, ‘नेता नन्दन दत्तलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छौं ।’
उनले गणतान्त्रिकको फोरमको राष्ट्रिय अध्यक्ष जेपी गुप्ता नै रहेको बताए । हाल गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पछि जेलमा सजाय काटिरहेका छन् ।
महासचिव साहले २२ सदस्यीय केन्द्रीय समितिमा आफूहरुसँग १४ जना सदस्य रहेको दाबी गरे ।
निवार्चनमा आयोगमा पार्टीको विवाद विचाराधिन रहेकै अवस्थामा यादवले सत्ता र पैसाको आडमा महाधिवेशनका लागि तयारी गरेको उनले बताए ।
मन्त्री बन्ने विषयमा विवाद भए पछि फोरम गणतान्त्रिक विभाजन भएको थियो । मन्त्री यादवले एउटा समूह र दत्ताले अर्को समूहको नेतृत्व गर्दै आफू आधिकारिक गणतान्त्रिक फोरम रहेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया