पोखरा, १६ कात्तिक । आयोजक पोखरालाई पराजित गर्दै एनआरटी क्लब दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा एनआरटीले आयोजक पोखरामाथि २–१ को संघर्षपूर्ण जित हात पार्यो । विजयी टोलीका लागि दुवै गोल असिमजंग कार्कीले गरे । निर्धारित ९० मिनेटको समय एक/एकको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३१औँ मिनेटमा सुवास गुरुङ ‘ए’को सानदार पासलाई उपयोग गर्दै कार्कीले टिमलाई पहिलो अग्रता दिलाए । एनआरटीको त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न भने सकेन । घरेलु टोलीको प्रतिनिधित्व गरेका विदेशी खेलाडी स्यान्डिजले बराबरी गोल गरेका थिए । बुद्ध लामाको परफेक्ट क्रसमा उनले हेड गोल गरे ।
खेलको दोस्रो हाफमा दुवै टिमका थुप्रै प्रयास असफल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा कार्कीले निर्णायक गोल गरे । यसपटक पनि उनले हेड गोल गरे । घरेलु मैदानमा भएको खेलमा दर्शकको अपार समर्थन पाएको आयोजक टोली अन्तिम समयमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्यो । एनआरटीले क्वार्टरफाइनलमा भुटानको ड्रुप पोल फुटबल क्लबको सामना गर्नुपर्नेछ ।
बुधबारको खेलमा एनआरटीका असिमजंग कार्की म्यान अफ दि म्याच भए । जितका लागि तीन विदेशी खेलाडी मैदानमा उतारेको पोखरा–११ का प्रशिक्षक पुष्प केसीले विदेशी र नेपाली खेलाडीको तालमेल नमिल्दा पराजय भोग्नुपरेको प्रतिक्रिया दिए । उनले आफू खेलबाट असन्तुष्ट नरहेको बताए ।
आयोजक टिम पोखरा–११ माथि कठिन रूपमा जित हात पारेको एनआरटीका प्रशिक्षक नरेन्द्रमान श्रेष्ठ पनि सन्तुष्ट भने रहेनन् । ‘स्ट्राइकरको कमी र डिफेन्समा केही कमजोरी रहेका कारण जितका लागि निकै मिहिनेत गर्नुपर्यो,’ उनले भने । भुटानसँगको भुटानसँग सुधारिएको खेल प्रस्तुत गर्ने उनको दाबी छ । प्रतियोगिताअन्तर्गत बिहीबारको खेल मच्छिन्द्र फुटबल क्लब र नेपाल प्रहरीबीच हुनेछ । यसअघि मंगलबार भएको खेलमा एनआइबिएल फ्रेन्ड्स क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
एन्फा कास्कीको आयोजनामा मंगलबारबाट पोखरा रंगशालमा जारी प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा विदेशी तीनसहित १२ टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले तीन लाख पाँच हजार र उपविजेताले नगद एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया