भारतलाई महिला टी–२० एसिया कप

ग्वन्जाउ, १६ कात्तिक । पाकिस्तानलाई १८ रनले पराजित गर्दै भारतले पहिलोपटक आयोजित एसिसी महिला टि–ट्वान्टी एसिया कपको उपाधि जितेको छ ।
८२ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.१ ओभरमा ६३ रनमा सीमित भयो । उत्कृष्ट बलिङ तथा फिल्डिङ प्रदर्शन गरेका भारतका अर्चना दास र नागराजन निरञ्जनाले समान दुई विकेट लिए । दुई रन जोड्दा पहिलो विकेट गुमाए पनि त्यसपछिको विकेटका लागि २९ रनको साझेदारी गरी जिततर्फ लम्किएको पाकिस्तानका तीन खेलाडीले मात्र दोहोरो अंक जोडे । यसअघि भारतको इनिङ तीन खेलाडीका भरमा त्यहाँसम्म पुगेको थियो । चार रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सवुमनलाई गुमाए पनि भारतका लागि पुनम राउत र हर्मनप्रित कौरले सम्हालिएर राम्रो प्रदर्शन गरे । हर्मनप्रितसँग तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेपछि पुनम २५ रनमा आउट भइन् ।
अमिता शर्मा एक रनमा आउट भएपछि ४४–४ को स्थितिमा पुगेको भारत हर्मनप्रितले पाँचौँ विकेटका लागि रीमा मल्होत्रासँग १८ रनको साझेदारी गरेपछि केही सम्हालिएको थियो । रीमाले १८ रन जोडिन् । बलिङतर्फ पाकिस्तानकी साना मिरले चार विकेट लिइन् ।
पाकिस्तानकी प्रारम्भिक ब्याट्सवुमन भीष्मा मरुफ प्लेयर अफ दि सिरिज भइन् भने प्लेयर अफ दि म्याच भारतकी पुनम चुनिइन् । यस प्रतियोगितामा एसियाका चार टेस्ट टोलीसहित ८ टिम सहभागी थिए । समूहका सबै तीन खेलमा हार बेहोर्दै नेपाल पहिलो चरणबाट बाहिरिएको थियो । एजेन्सी

प्रतिक्रिया