सारापोभा ग्रान्डस्लाममा केन्द्रित

मस्को : चर्चित महिला टेनिस खेलाडी मारिया सारापोभाले आफू आगामी वर्ष वरियताक्रममा केन्द्रित नरहने स्पष्ट पार्दै विम्बल्डन जित्ने लक्ष्य राखेको बताएकी छिन् । ‘आगामी सिजन विम्बल्डन मेरो प्राथमिकतामा हुनेछ ।’ वर्षको यस तेस्रो गं्रान्डस्लामकी साविक विजेतासमेत रहेकी यी रसियन स्टारले भनिन् । मस्कोमा बिहीबार सामसङसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेपछि पाँचवटा ग्रान्डस्लाम विजेता सारापोभाले भनीन् ।
पटकपटक विश्व नम्बर एक भइसकेकी सारापोभा यस वर्ष वरीयताक्रमको दोस्रो स्थानमा रहेर सन् २०१३ मा प्रवेश गर्ने निश्चित भइसकेको छ । टेनिसमा सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको ग्रान्डस्लाममा सारापोभाको ग्रान्डस्लाम करियरमा विम्बल्डनको विषेष महत्त्व छ । १७ वर्षको उमेर हुँदा सारापोभाले सन् २००४ मा व्यक्तिगत पहिलो ग्रान्डस्लामका रूपमा लन्डनमा आयोजना हुने विम्बल्डन जितेकी थिइन् । यसै वर्ष फ्रेन्च ओपन जितेर उनले सबै चार ग्रान्डस्लाम जित्ने महत्त्वपूर्ण सफलता हात पारिन् । सेरेना विलियम्ससँग फाइनलमा पराजित भएपछि सारापोभा लन्डन ओलम्पिकमा भने राम्रो प्रदर्शनका बाबजुद रजत पदकमै सीमित हुनुपर्‍यो । (एजेन्सी)

प्रतिक्रिया