चितवनको सबैभन्दा अग्लो पहाड सिराइचुली । सूर्योदयको मनोरम दृश्य बिछट्टै आनन्ददायक छ । पृथ्वी राजमार्ग छोडेपछि उकालिने जोगीमाराको उकालोले चौतारीमा पुगेर केही बेर विश्राम लिन्छ । थकान सुस्केरा बनेर प्रकृतिमा मिसिन पाएकै हुँदैन, मेसिन चलेको खट्खट् आवाजले श्रुतिस्पर्श गर्छ । एक्कासि आँखैमा ठोक्किन आइपुग्छ, हर्कबहादुर दर्जीको आँगन । सूर्यादयको दृश्यपान गर्न हतारिएका प्रत्येक व्यक्ति केही बेर चौतारीमा सुस्ताउँछन् नै । चुचुरो भेट्न थप तीन घण्टा उकालिनुपर्ने भएपछि जयपुरी गाउँको यो चौतारीलाई बेवास्ता गर्ने तागत कसको रहला र ? त्यसो त टक्क अडिएर चिसो बतासले पसिना सुकाउनुको मजा पनि कम छैन । त्यसैले त हर्कबहादुरको आँगन कतिखेरै शून्य हुँदैन ।
कपडाका साइज मिलाउन औंलाले ‘बित्ता’ र ‘अमल’ नाप्दै गरेका हर्कबहादुर भने यी चहलपहलसँग खासै सरोकार राख्दैनन् । सायद उनलाई फुर्सद पनि छैन । उकालो–ओह्रालो गर्नेहरूका नजरमा नपर्न पनि सक्छन् उनी । ६ वर्षअघि आँखाको दृश्यशक्ति बढाउन पावरदार चस्मा भिरेका छन् । मोटो चस्माको कुनाकुनामा फोहोर जमेको छ तर उनलाई हेक्का भएजस्तो लाग्दैन । बिहान सातै बजेदेखि कमाइको मेसो तल्लीन हुन थाल्छन् ।
सहरबजारमा छिनछिनमा कपडाका डिजाइन फेरिइरहेका छन् । कपडा सिलाउने आधुनिकतम प्रविधि भित्रिइरहेका छन् । तर, वर्षौंदेखि ‘बित्ता’ र ‘अमल’ को पुरानै मापनशैली नछोडेका यी दर्जीको काँधमा चाहिँ कपडा नाप्ने फित्तासमेत छैन । विद्यालयमा प्रयोग हुने सेतो ‘खरी’ ले कपडामा चिह्न कोर्छन् । गालाका चाउरीहरूले बताउँछन्, हर्कबहादुर निकै बूढ्यौलीमा छन् । तर, उनलाई आफ्नो उमेरको यकिन हिसाबकिताब थाहा छैन, न त कपडा सिलाउन शुरु गरेको अवधि नै । स्वर्गे भइसकेकी आमाको भनाइ सापटी लिँदै उमेर मिलाउन खोज्छन्– ‘नब्बे सालको भुइँचालोमा आमाको गर्भमा थिएँ रे †’ जन्मदिन थाहा नभए पनि उनी ७९ वर्षचाहिँ पक्कै पुगेछन् ।
कपडा सिलाउनु उनको पुख्र्यौली पेसा हो । ‘जन्मेदेखि जानेको कामै यही एउटा मात्रै हो’, परम्परा धान्दै जाँदा सायद उनले विकल्प खोज्ने आवश्यकता पनि देखेनन् । धादिङकै मैदीमा जन्मिएका उनी जुँगाको रेखी बसेदेखि नै आमाबाबुका साथ जोगीमारा–३ बसाइँ आएछन् । ‘अब मर्ने पनि यहीँ हो’, कर्मभूमिप्रति अथाह प्रेम छ उनलाई ।
कुर्तासलवारदेखि दौरासुरुवाललगायत प्राय: सबै कपडा सिलाउन अनुभवी हर्कबहादुरको अनुभव बोल्छ– ‘पेटीकोट सिलाउन सबैभन्दा सजिलो ।’ यही पेसामा जीवनको ऊर्जाशील समय गुजारेका हर्कबहादुरले यो सीपका लागि कुनै तालिम लिएका छैनन् । बुबाले गरेको देखेकै भरमा सिक्दै गए । ‘काम नै यही भएपछि देखेर पनि आइहाल्छ नि †’, आफ्नो क्षमताप्रति ‘कन्फिडेन्ट’ छन् । त्यसैले त अहिलेसम्म कुनै पनि कपडा बिगारेर ज्याला फिर्ता गर्नुपरेको छैन रे †
उनको मेसिन उनीभन्दा करिब २५ वर्ष कान्छो रहेछ, २०१६ सालमा बनेको । उनले चाहिँ २०१८ सालमा १६ सय हालेर किनेका । कैंची पनि उति बेलाकै हो, बेलाबेलामा सान लगाएपछि टाठो भएर आइहाल्छ । जयपुरी क्षेत्रका मात्रै होइन, सिमाना जोडिएको काउले गाविसको हात्तिवाङसम्मका मान्छेले उनैलाई पत्याउँछन् । त्यसैले यो बूढेसकालमा पनि कामको चापाचाप छ । ‘कहिल्यै फुर्सद छैन’, व्यस्तता सुनाए । आधुनिक सहरी टेलरको भन्दा निकै कम छ उनको रेट । दौरासुरुवाल सिलाएको जम्मा सय रुपियाँ । ‘चौबन्दी चोली सिलाएको ६० रुपैयाँ, सबैभन्दा सस्तोचाहिँ पेटीकोटको १५ रुपैयाँ पर्छ’, उनले सुनाए ।
जीवनको धेरै समय बालीघरमा कपडा सिलाए उनले । ज्याला लिएर कपडा सिलाउन थालेको धेरै भएको छैन । सरकारले बालीघरे प्रथाको कानुनी रूपमा अन्त्य गरे पनि उनलाई भने पछिसम्मै यो प्रथाले छोडेन । तीन/चार वर्षअघि उनलाई होस खुलेजस्तो भयो– ‘वर्ष दिनलाई जम्मा एक/दुई पाथी मकैमा कति सिलाइरहनु कपडा †’ महँगीको मारले च्याप्दै लगेपछि परिश्रमको मूल्यलाई रकममा रुपान्तरण गर्ने आइडिया फुरेको रहेछ । थपे– ‘तीन/चार वर्षयता मात्रै ज्यालामा लुगा सिउन थालेको हुँ ।’
हर्कबहादुरको आँकलनमा बालीघर छोडेपनि कपडा सिलाउन आउनेको चाप घटेको छैन । दौरासुरुवाल, चौबन्दी, पेटीकोटको अर्डर उनको बढी आउँछ । शरीरलाई बूढ्यौलीले कज्याउन थालिसक्यो, तर उनलाई अहिलेसम्म कुनै गाह्रो अनुभूति भएको छैन । चस्मा पनि टाउको दुख्ने समस्या ठीक पार्न मात्र लगाएका रे † बाँकी कामका लाग अहिलेसम्म आँखाले साथ दिएकै छन् । ‘मैन्टोल भए राती पनि सिउँछु’, उनको तागत ।
दैनिक कमाइले घर राम्रैसँग धानेको छ । जीवनको रंग फेर्ने, सम्पत्ति जोड्ने नयाँ सपना उनले पालेका छैनन् पनि । मेसिनको पााग्रा घुमाउँदै थपे –‘दिनको ५० देखि छ बीससम्म कमाउँछु, गर्जो टार्न यसैले पुग्छ ।’
हर्कबहादुरका चार छोरा र एक छोरी छन् । सबैको बिहेबारी भइसक्यो । साथमा कोही छैनन्, सबैले कमाइको आ–आफ्नै मेसो समाइसके । कोही बर्दिया कोही काठमाडौंतिर छन् । चौतारीछेउमा हर्कबहादुरका दम्पती मात्रै छन् । अंशबण्डा गर्दा घर छोराहरूको भागमा पर्यो । छोराहरूले बेचिदिए । अहिले दम्पती ओत लाग्ने गरेको छानो अर्कैको हो । बेचिएको नजिकैको घरमा पराईले राज गर्न थालिसके तर पनि सन्तुष्ट देखिन्छन् हर्कबहादुर ।
जन्मसँगै मान्छेका आवश्यकता र चाहना बढ्दै जान्छन् । सबै चाहना पूरा हुँदैनन् । भोगाइहरुले मान्छेलाई जीवनको तत्वबोध गराउँछन्, अनि त्यसैबाट सन्तुष्टि लिन सिक्छन् । सायद जिन्दगीका संवेगहरूले हर्कबहादुरलाई पनि यिनै भोगाइहरूबीच दु:खजिलो गरी बाँच्न अभ्यस्त बनाएका छन् । ‘जीवन सुखदु:खको मिश्रण हो’ को परिभाषाभित्र रहेर आफ्नै किसिमले रमाउन सिकाएका छन् । ‘आफ्नो भाग्यमा भएको खाने हो’, जीवनका बारेमा संक्षिप्त टिप्पणी गरे उनले । अनि, बूढो मेसिनलाई लुगामाथि दौडाउँदै पाइन्टका टुक्रा जोड्न थाले, खट्..खट्..खट्..खट्.. †
प्रतिक्रिया