वीरगन्ज, १६ कात्तिक । प्रेस चौतारी नेपाल पर्साका पूर्वअध्यक्ष राघव साहमाथि आक्रमण भएको छ । वीरगन्ज–१४ रानीघाटस्थित कृषि औजार अनुसन्धान केन्द्रअगाडि मंगलबार राति साहमाथि अपरिचित समूहले आक्रमण गरेका हुन् ।
साहको टाउकोमा गम्भीर चोट लागेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ । उनी पर्दाफास दैनिकका प्रकाशक हुन् । श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावासनजिकै रहेको पत्रिकाको कार्यालयबाट काम सकेर रानीघाटमा रहेको निवासतर्फ जाँदै गर्दा राति पौने १० बजे साहमाथि आक्रमण भएको हो ।
आक्रमणकारी समूहले साहको साथमा रहेको नगद पाँच हजार रुपियाँ र एक थान मोबाइल सेट पनि लुटेर लगेको प्रहरीले जनाएको छ । ‘पछाडिबाट एक युवकले घाँटी समातेर नशालु पदार्थ सुँघायो,’ साहले सौर्यसँग भने, ‘अनि, अर्कोले रडले टाउकोमा हान्यो ।’ त्यसपछि साह बेहोस भएका थिए । घटनाबारे पत्रकार साहले बुधबार जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका छन् ।
प्रतिक्रिया