काठमाडौं, १५ कात्तिक । नेपाल प्रहरीले विभिन्न कारणबाट रिक्त रहेका आफ्नो जवान पदमा दरखास्त आह्वान गरेको छ ।
प्रहरी मुख्यालय नक्सालले आज सूचना जारी गरेर खुल्ला प्रतियोगिताद्वारा समावेशी अनुसार पूर्ति गर्नुपर्ने भएको भन्दै योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरेको छ ।
समावेशीतर्फ ६ सय ७५, महिलामा १ सय ३५, आदिवासी÷जनजातिमा २ सय १६, मधेसीमा १ सय ८९, दलितमा १ सय १, पिछडिएको क्षेत्रलाई ३४ र खुल्लातर्फ ८ सय २५ गरी कुल १ हजार ५ सय प्रहरी जवानका लागि दरखास्त आह्वान गरिएको हो ।
दरखास्त कात्तिक–१६ देखि मंसिर–१५ गते सम्म एक महिना सम्म तोकिएको स्थानमा भर्न सकिने सूचनामा उल्लेख छ ।
दरखास्त फारम पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलबाट पाइनुका साथै बुझाउन पनि सकिने व्यवस्था छ ।
जवान पदका लागि दरखास्त दस्तुर १ सय रुपियाँ लाग्ने उल्लेख छ । नेपालीमा सामान्य लेखपढ गर्न जानेको शैक्षिक योग्यता तथा २३ बर्ष ननाघेकाले सो पदमा दर्खास्त दिन सक्ने व्यस्था गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया