अयोग्य लडाकुलाई पैंसा दिने निर्णयको विरोध

काठमाडौं, १५ कात्तिक । विपक्षी दलहरुले अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय गरेर एमाओवादी नेतृत्वको सरकारले राज्यकोष माथि ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा विपक्षी दलका नेताहरुले अयोग्य लडाकुलाई राज्यकोषको रकम दिन नहुने बताए । शान्ति मन्त्रालयले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख रुपियाँ दिने निर्णय गरे पछि विरोध शुरु भएको हो ।
कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडू अयोग्य लडाकुका नाममा एमाओवादीले चरम आर्थिक अनियमितता गर्न लागेको बताए ।
‘अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय राज्यकोषमाथिको ब्रम्हलुट हो,’ उनले भने, ‘अयोग्य लडाकुलाई एमाओवादी पार्टीले नै रकम दिनु पर्छ ।’
एमाले नेता भीम रावलले आयोग्य लडाकुलाई पैंसा दिने विषयमा सेना समायोजन विशेष समितिमा कुनै निर्णय नभएको बताए । ‘एमाओवादीले जनतको करमाथि ब्रम्हलुट गरेको छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनका लागि लडेको भन्दै त्यसबापतको पैसा लिनु लज्जास्पद हो ।’
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले अयोग्य लडाकुलाई दुई/दुई लाख रुपियाँ दिने निर्णय पहिला नै सहमति भएको दाबी गरे । ‘अयोग्य लडाकुलाई पैसा दिन गरिएको निर्णय फिर्ता हुँदैन,’ उनले भने, ‘गणतन्त्र ल्याउन लडाकुको अहम् भूमिका छ ।’
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले विशेष समितिमा निर्णयनै नगरी अयोग्य लडाकुलाई रकम दिन नहुने बताए । उनले एमाओवादीले राज्यकोषमा माथिको लुट तत्काल रोक्नु पर्ने बताए ।

प्रतिक्रिया