इन्डोर आर्चरी बिहीबारदेखि

काठमाडौं : नेपाल आर्चरी संघको आयोजनामा बिहीबारदेखि इन्डोर आर्चरी प्रतियोगिता हुने भएको छ । नेपालमा यस किसिमको प्रतियोगिता पहिलोपटक हुन लागेको नेपाल आर्चरी संघबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ । नेपालमा परम्परादेखि प्रचलित आर्चरी (धनुष–काँण) प्रतियोगिता खुला ठाउँमा मात्र हुँदै आइरहेकोमा विश्व तथा एसियाली स्तरमा इन्डोर प्रतियोगिता आयोजना भइरहेकाले नेपालमा पनि यसको विकास गर्ने उद्देश्यले पहिलोपटक कोठाभित्र आयोजना गर्न लागिएको नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी गराए । १८ देखि ३० मिटरको रेन्जमा खेल्न सकिने प्रतियोगिता १८ मिटरको रेन्जमा खेलाइनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने तीनदिने प्रतियोगितामा स्ट्यान्डर्ड र खुलातर्फ पुरुष र महिलाका कुल पाँच स्पर्धामा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कुल अनुमानित खर्च आठ लाख ८० हजार ५ सय रहेको प्रतियोगितामा व्यक्तिगततर्फ पहिलो हुनेले पाँच, दोस्रो हुनेले चार र तेस्रो हुनेले तीन हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी, युगलतर्फ शीर्ष तीन जोडीले पाँच, तीन र एक हजार रुपियाँ पुरस्कार पाउनेछन् । (सौस)

प्रतिक्रिया