काठमाडौं, १५ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मिस्त्री खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निश्चित भएको छ ।
०६८ सालमा स्थापना भएर ०६९ साल साउनमा व्यावसायिक कारोबार सञ्चालनको घोषणा गरेको कम्पनीले मिस्त्री खोला जलविद्युत् आयोजनामा लगानी गर्ने पक्का भएको हो । नेपाल भारत क्रस बोर्डर ट्रान्समिसन लाइनका लागि साढे ६ करोड लगानी गर्ने निर्णय गरिसकेको कम्पनीले लगानी गर्न लागेको यो दोस्रो आयोजना हो ।
रोवस्ट इनर्जीले म्याग्दी जिल्लामा निर्माण गर्न लागेको ४२ मेगावाटको उक्त आयोजनाको लगानीका लागि नबिल बंैकको अनुरोधमा कम्पनीले मिस्त्री खोलामा लगानी गर्न लागेको हो । विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशवध्वज अधिकारीको संयोजकत्वमा रहेको कम्पनीको रिक्स एसिसमेन्ट सेलको अध्ययन प्रतिवेदनले आयोजनामा लगानी गर्न उपयुक्त देखाएको हो । नबिल बंैकको प्रस्तावपछि गरेको अध्ययनबाट आयोजनामा लगानी गर्न उपयुक्त देखिएको प्रतिवेदन रिक्स म्यानेजमेन्ट कमिटीलाई पठाइएको सेलका सदस्यसचिव संजीव बरालले जानकारी दिए ।
लगानी कम्पनीका बोर्ड सदस्य वैकुण्ठ अर्यालको संयोजकत्वमा रहेको समितिले सञ्चालक समितिका प्रस्ताव लगेर पारित भएपछि कम्पनीले लगानी प्रक्रिया अगाडि बढाउनेछ । ‘अध्ययन गर्दा प्रसारण लाइनमा केही समस्या देखिए पनि आयोजना निर्माण प्राविधिक रूपमा उपयुक्त र सस्तो देखिएकाले समितिलाई लगानी गर्नका लागि प्रतिवेदन दिएका छौँ,’ बरालले भने । आयोजनामा कम्पनीले कति लगानी गर्ने भन्ने टुंगो लागिसकेको छैन तर आयोजनाले एक महिनाभित्रै वित्तीय व्यवस्थापन गरिसक्ने जनाएको छ ।
करिब पाँच अर्ब ६० करोडको लागतमा निर्माण सुरु गरिएको आयोजनामा आगामि माघभित्र सुरु गरेर ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको रोवस्ट इनर्जीका अध्यक्ष सुव्रत धितालले जानकारी दिए । उनका अनुसार आयोजनाका लागतमध्ये ७५ प्रतिशत वित्तीय संस्थाको हुनेछ ।
आयोजनाको लिड बैंक नबिलका साथै कम्पनी, नेपाल इन्भेस्टमेन्ट बंैक, लक्ष्मी बैंक, नेपाल बैंक लिमिटेड, क्लिन इनर्जी बैंक, सञ्चय कोषलगायतले लगानी गर्न लागेका छन् । कुन बैंक र कम्पनीले कति गर्ने भन्ने टुंगो लाग्ने भने बाँकी छ । आयोजना प्रवद्र्धक रोवस्टका अध्यक्ष धितालका अनुसार आयोजनाका लागि ९८ प्रतिशत जग्गा खरिद गर्ने कार्य सकिएको छ भने पहुँच मार्ग निर्माणको कार्य पनि ३० प्रतिशत सकिसकेको छ ।
प्रतिक्रिया