कृषि विकास कार्यालयबाट लाखौँ अनियमितता

गौशाला : जिल्ला कृषि विकास कार्यालय महोत्तरीले नयाँ पोखरी निर्माण र इँटाभट्टा सुदृढीकरणको नाममा लाखाँ रुपियाँ अनियमितता गरेको समाचार बाहिर आएको छ ।
कार्यालयले आव ०६८/६९ मा जिल्लामा अभियानमुखी मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत महोत्तरीका विभिन्न १६ वटा गाविसका १९ जनालाई नयाँ पोखरी निर्माण र ११ गाविसका १८ जनालाई इँटाभट्टा सुदृढीकरण कार्यक्रमका लागि रकम निकासा गरी काम सम्पन्न भएको देखाएको छ । तर, ती कार्यक्रम कागजमा मात्र सम्पन्न भएपछि सो कुरा बाहिर आएको हो । कार्यालयले जिल्लामा पोखरी निर्माणतर्फ १० लाख ७० हजार र इँटाभट्टा सुदृढीकरणतर्फ आठ लाख ५५ हजार गरी कुल १९ लाख २५ हजार विनियोजन गरेको थियो ।
सो रकममध्ये कार्यालयले सेवास्तरीय तालिममा दुईपटकको सात हजार, समूह गठनमा दुई हजार र मसलन्दमा १० हजार खर्च देखाएको छ । अन्य रकम कृषक समूह र सहकारी संस्थाका प्रतिनिधिलाई ३० प्रतिशत कमिसन लिई बाँडेको नाम नछाप्ने सर्तमा सोही कार्यालयका एक कर्मचारीले बताए । यस कार्यक्रमका लागि स्थानीय विकास अधिकारी अध्यक्ष रहेको र कृषि विकास कार्यालयकै कार्यक्रम हेर्ने प्रमुख सदस्य रहेको तीन सदस्य समितिले २ मंसिर ०६८ मा जिल्लामा प्रस्ताव आह्वान गरेको थियो । सोही आधारमा विभिन्न कारणवश कार्यालयले राजनीतिक दबाबमा राजनीतिक कार्यकर्तालाई नै कार्यक्रम वितरण गरी कागजमै नयाँ पोखरी निर्माण र इँटाभट्टा सुदृढीकरण कार्यक्रम देखाई लाखौँ रकम अनियमितता गरेको हो ।
कार्यालयले नयाँ पोखरी निर्माणतर्फ एक लाखका दरले र इँटाभट्टा सुदृढीकरणतर्फ ४० देखि ७० हजार रुपियाँसम्मका दरले वितरण गरेको थियो । स्रोतअनुसार सो कार्यक्रम हेर्ने मत्स्य विकास अधिकृत बिजुलीप्रसाद यादवले कृषि विकास कार्यालय महोत्तरीले १० हेक्टरमा नयाँ पोखरी निर्माण र २० हेक्टरमा इँटाभट्टा सुदृढीकरण कार्यक्रम भएको झुठो प्रगति विवरण देखाई रकम अनियमितता गरेका छन् ।

प्रतिक्रिया